एमालेले ८० सिट ल्याएर पहिलो दल बन्यो, सुनसरी ३ को मतगणना भने जारी

प्रकाशित मिति: २७ मंसिर २०७४, बुधबार

काठमाडौं, २७ मंसिर । प्रतिनिधिसभाका एकसय ६५ निर्वाचन क्षेत्रमध्ये एमालेले ८० सिट जितेर पहिलो दल बनेको छ । सुनसरी क्षेत्र नं.३ बाहेक देशभरका सबै निर्वाचन क्षेत्रको मतगणना सकिएको छ ।

निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा र प्रदेशसभातर्फको प्रत्यक्षतर्फको मतगणना सकिएसँगै समानुपातिकको गणना पनि विभिन्न जिल्लामा सकिएको छ । मतगणना भइरहेको सुनसरी ३ मा कांग्रेसका विजय गच्छदारले अग्रता लिएका छन् । समानुपातिकतर्फ पनि एमालेको अग्रता कायमै रहेकाले अब बन्ने प्रतिनिधिसभामा एमाले सबैभन्दा ठूलो दल बन्ने निश्चित भएको छ ।

प्रत्यक्षतर्फ माओवादी दोस्रो दल बनेको छ । माओवादीले ३६ सिट प्रत्यक्षतर्फ जितेको छ भने समानुपातिकमा तेस्रो स्थानमा छ । बामपन्थी गठबन्धनको प्रत्यक्षतर्फ एकसय १७ सिट पुगेको छ, जुन दुई तिहाइ संख्या हो । यसमा राष्ट्रिय जनमोर्चा र राप्रपाका राजेन्द्र लिङ्देनको पनि सिट जोडिएको छ । हुम्लाबाट स्वतन्त्र निर्वाचित माओवादी नेता छक्कबहादुर लामाले समेत आफू बामपन्थी गठबन्धनकै सांसद भनिरहेका छन् । यि सबैले गर्दा बामपन्थी गठबन्धनको प्रत्यक्षतर्फ एकसय १९ सिट पुगेको छ ।

कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनले ३७ सिट जितेको छ जसमा नयाँ शक्तिका डा.बाबुराम भट्टराई पनि पर्छन् । कुनै पनि गठबन्धनमा नरहेको नेपाल मजदुर किसान पार्टीले एक सिट जितेको छ । बिजयकुमार गच्छदारको अग्रता कायमै रहेकाले उनले जितेमा कांग्रेसको प्रत्यक्षतर्फ कांग्रेसको २३ सिट हुनेछ । त्यस्तै मधेसवादी गठबन्धनले २१ सिट जितेको छ । जसमध्ये राजपाले ११ र संघीय समाजवादी फोरमले १० सिट जितेका छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट