नुवाकोटमा प्रत्यक्षतर्फ छवटै सिट गुमाएको कांग्रेस समानुपातिकमा पहिलो

प्रकाशित मिति: २७ मंसिर २०७४, बुधबार

नुवाकोट, २७ मंसिर । गएराति सम्पन्न मतगणनाअनुसार जिल्लामा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फ कांग्रेस अगाडि देखिएको छ । प्रत्यक्षतर्फको छवटै सिट गुमाएको कांग्रेस समानुपातिकमा भने पहिलो भएको छ ।

त्यस्तै एमाले दोस्रो र माओवादी केन्द्र तेस्रो भएका छन् । कांग्रेस समानुपातिकमा ४७ हजार दुईसय ५५ मत ल्याएर  पहिलो भएको हो । एमालेले ३९ हजार छसय नौ मत ल्याएर दोस्रो र माओवादी केन्द्रले २७ हजार आठसय ५० मत ल्याएर तेस्रो भएको छ ।

प्रतिनिधिसभाको क्षेत्रगत रुपमा हेर्दा क्षेत्र नं.१ मा कांग्रेस पहिलो भएको छ भने क्षेत्र नं.२ मा एमाले पहिलो भएको छ । प्रतिनिधिसभा क्षेत्र नं.१ मा २३ हजार दुईसय ९५ मतसहित कांग्रेस पहिलो, १८ हजार पाँचसय १२ मतसहित माओवादी केन्द्र दोस्रो र १४ हजार तीनसय ५३ मतसहित एमाले तेस्रो भएको छ । क्षेत्र नं.१ को प्रदेशसभा (क) मा कांग्रेसले १२ हजार २६, माओवादी केन्द्रले १० हजार छसय ४६ र एमालेले पाँच हजार तीनसय ३२ मत ल्याएको छ । प्रदेश (ख) मा कांग्रेसले ११ हजार दुईसय ६९, एमालेले आठ हजार सातसय ८३ र माओवादी केन्द्रले सात हजार आठसय ६६ मत ल्याएको छ ।

यस्तै, प्रतिनिधिसभा क्षेत्र नं.२ मा एमालेले २५ हजार दुईसय ५६, कांग्रेसले २४ हजार एकसय ६०, माओवादी केन्द्रले नौ हजार तीनसय ३८ मत ल्याएको छ । क्षेत्र नं.२ को प्रदेश (क) मा एमालेले १२ हजार दुईसय २९, कांग्रेसले १० हजार आठसय ७२ र माओवादी केन्द्रले पाँच हजार एकसय नौ मत ल्याएको छ । यस्तै, प्रदेश (ख) मा कांग्रेसले ११ हजार पाँचसय ६३, एमालेले १० हजार सातसय २२ र माओवादी केन्द्रले पाँच हजार दुईसय ६२ मत ल्याएका छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट