आजदेखि वायु–सौर्य ऊर्जा प्रणालीबाट विद्युत् प्रवाह शुरु

प्रकाशित मिति: २६ मंसिर २०७४, मंगलवार

काठमाडौं, २६ मंसिर । सिन्धुलीको हरिहरपुरगढी गाउँमा मुलुककै पहिलो वायु–सौर्य ऊर्जा प्रणाली स्थापना भएसँगै आजैदेखि विद्युत् प्रवाह पनि थालिएको छ । त्यस अवसरमा जनसंख्या तथा वातावरण मन्त्रालयका सचिव प्रकाश माथेमाले नेपालको ऊर्जा क्षेत्रमा निरन्तर सहयोग गरेकामा एडिबीप्रति आभार व्यक्त गर्दै दिगो विकासका लक्ष्य हासिल गर्ने नेपालको प्रयासमा नवीन एवं नवीकरणीय ऊर्जाको महत्वपूर्ण योगदान हुने बताए ।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक रामप्रसाद धितालले स्वच्छ ऊर्जाको उपयोगले ग्रामीण भेगमा आर्थिक गतिविधिमा बढोत्तरी हुने विश्वास व्यक्त गरे । एशियाली विकास बैंक (एडिबी)को दक्षिण एशिया उपक्षेत्रीय आर्थिक सहयोग (सासेक) अन्तर्गतको ऊर्जा प्रणाली विस्तार परियोजनामा एडिबीका साथै नेपाल सरकारले लगानी गरेको थियो ।

उक्त परियोजनाबाट दैनिक एकसय १० किलोवाट बिजुली उत्पादन हुनेछ । उत्पादित बिजुली ८३ घरमा आपूर्ति भइरहेको छ । यहाँस्थित एडिबीका अनुसार बैंकका देशीय निर्देशक मुख्तोर खामुदखानोभले स्वच्छ, विश्वसनीय र खर्च गर्न सकिने स्वच्छ ऊर्जामा गाउँका जनताको पहुँच वृद्धि भएपछि स्थानीय आय वृद्धिका साथै बाह्य विश्वसँग उनीहरुको सम्पर्क स्थापना हुने बताए । सूर्य र हावाबाट बिजुली उत्पादन गर्न उक्त परियोजनामा करिब एक अर्ब ६२ करोड रुपैयाँ लगानी भएको थियो ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट