रामेछापमा समानुपातिकतर्फ एमाले पहिलो पार्टी बन्यो

प्रकाशित मिति: २६ मंसिर २०७४, मंगलवार

रामेछाप, २६ मंसिर । जिल्लामा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फको मतगणना सकिएको छ । यहि मंसिर १० गते भएको निर्वाचनमा समानुपातिकतर्फको भोटमा रामेछापमा एमाले पहिलो पार्टी बनेको छ ।

समानुपातिकतर्फको परीणामअनुसार प्रतिनिधिसभा र प्रदेशसभा दुबैमा एमाले पहिलो, कांग्रेस दोस्रो र माओवादी केन्द्र तेस्रो भएका छन् । निर्वाचनमा जम्मा खसेको ८९ हजार पाँचसय ८७ मतमा प्रतिनिधिसभातर्फ एमालेले कांग्रेसले भन्दा दुईसय २५ बढी मत प्राप्त गरेको छ । मतपरीणाम अनुसार एमालेले २६ हजार आठसय ५२, कांग्रेसले २६ हजार दुईसय २७ र माओवादी केन्द्रले १९ हजार चारसय ३७ मत प्राप्त गरेका छन् ।

त्यसैगरी प्रदेशसभातर्फ पनि नेकपा एमलेले नै बढी मत पाएको छ । कांग्रेसले भन्दा दुई हजार दुईसय ३६ मत बढी ल्याएर प्रदेशसभामा पनि एमाले पहिलो बनेको छ । प्रदेशसभातर्फ एमालेले २६ हजार एकसय दुई, कांग्रेसले २३ हजार आठसय ६६ र माओवादी केन्द्रले १८ हजार सातसय ४८ मत ल्याएका छन् ।

रामेछापबाट एमालेका जिल्ला सचिव आनन्द श्रेष्ठ प्रदेशसभाका लागि समानुपातिकमा परेका छन् । त्यसैगरी माअ‍ेवादी केन्द्रतर्फबाट प्रतिनिधिसभाका लागि मैनकुमार मोक्तान र प्रदेशसभाका लागि लक्ष्मी गुरुङ समानुपातिकमा परेकी छिन् । माओवादी नेतृ लक्ष्मी गुरुङले प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका श्यामकुमार श्रेष्ठको विरुद्धमा र नेता मैनकुमार मोक्तान रामेछाप प्रदेश ‘ख’ बाट निर्वाचित कैलाश प्रसाद ढुंगेलविरुद्धमा प्रदेशसभाका लागि बागि उम्मेदवार दर्ता गराएर फिर्ता लिएका थिए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट