मिक्स टिम इभेन्टको उपाधि नेपाल प्रहरीलाई

प्रकाशित मिति: २६ मंसिर २०७४, मंगलवार

राजेश थापा मगर
काठमाडौं, २६ मंसिर । हुवाइ नोभा टु आई इम्पेक्ट ठमेल ओपन टेबलटेनिस प्रतियोगिताअन्तर्गत मिक्स टिम इभेन्टको उपाधि नेपाल प्रहरी क्लबले जितेको छ । सोमबार प्रहरीले नेपाल एपिएफ क्लबलाई १७–५ ले पराजित गर्दै उपाधि जितेको हो ।

मिक्स टिम इभेन्टमा समान ५–५ पुरुष र महिला खेलाडी प्रतिस्पर्धा गरेका थिए । मिक्स टिमको पुरुष सिंगल्समा प्रहरीका राष्ट्रिय च्याम्पियन श्यान्टु श्रेष्ठले एपिएफका अमरलाल मल्ललाई २–१, महिला सिंगल्समा राष्ट्रिय च्याम्पियन प्रहरीकी नविता श्रेष्ठले एपिएफकी सेलिशा खड्गीलाई ३–०, पुरुष डबल्समा प्रहरीका श्यान्टु र विनेश खनियाको जोडीले एपिएफका अमर र शिवसुन्दर गोथेको जोडीलाई २–१, मिक्स डबल्समा प्रहरीका दीप साउन र नविताको जोडीले एपिएफका पुरुषोत्तम बज्राचार्य र सिक्का सुवालको जोडीलाई ३–०, पुरुष सिंगल्समा प्रहरीका दीपले एपिएफका पुरुषोत्तमलाई २–१ तथा महिला सिंगल्समा प्रहरीकी एलिना महर्जनले एपिएफकी अन्जु सुवाललाई ३–० सेटले पराजित गरे ।

अर्को पुरुष सिंगल्समा भने एपिएफका शिवले प्रहरीका विनेश खनियालाई २–१ ले हराए । महिला डबल्समा प्रहरीका एलिना र मन्जु सुवालको जोडीले एपिएफका सेलिशा र अनिता महर्जनको जोडीलाई पहिलो सेट ११–१ ले जितेपछि प्रहरी टिमले बाँकीका खेलहरु खेल्नु परेन् । मिक्स टिमइभेन्टमा जुन टिमले अगाडि १७ अंक हासिल गर्छ उसैलाई विजेता घोषणा गर्ने प्रावधानअनुरुप बाँकी रहेका खेलहरु अगाडि नबढाइएको हो । मिक्स टिममा एक सेट जित्ने टिमले १ अंक प्राप्त गर्छ ।

सोमबारै भएको दोश्रो क्लालिफायरमा एपिएफले नेपाल आर्मी क्लबलाई १७–१० ले पाखा लगाउदै प्रहरीसँग उपाधि भिडन्त पक्का गरेको थियो । प्रहरीले भने आइतबारै पहिलो क्वालिफायरमा आर्मीमाथि १७–१० को जित दर्ता गर्दै फाइनलमा स्थान सुरक्षित गरिसकेको थियो । सात टिम सहभागी मिक्स टिम इभेन्टमा आर्मीले तेश्रो स्थानमा चित्त बुझायो । शीर्ष तीन स्थान हात पार्नेले क्रमशःनगद ४० हजार, २० हजार र १० हजार रुपैयाँ प्राप्त गरे ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट