अर्घाभगवती विमानस्थल चाँडै बन्दै

प्रकाशित मिति: २५ मंसिर २०७४, सोमबार

काठमाडौं, २५ मंसिर । नेपाल नागरिक उड्डयन प्राधिकरण, एरोड्रम इञ्जिनियरिङ विभागले अर्घाभगवती विमानस्थल निर्माणस्थलमा रहेका रुख हटाउने कार्यका लागि भुसाल कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रालि, सन्धिखर्क, अर्घाखाँचीसँग सम्झौता गरेकाले सो विमानस्थल चाँडै बन्ने भएको छ । विभाग र प्रालिबीच यही मंसिर १८ गते सोसम्बन्धी सम्झौता भई विमानस्थल निर्माणको काम अघि बढ्न लागेको विभागका ई.ध्रुवदास भोछिभोयाले जनाएका छन् ।

कूल लागत करिब ८० करोड रुपैयाँको सो बहुवर्षीय आयोजना चार वर्षभित्र बन्ने बताइएको छ । विमानस्थल बनेपछि गौतमबुद्ध जन्मस्थल लुम्बिनी र आसपासको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास लिइएको छ भने त्रिभुवन विमानस्थलबाट करिब ३५ मिनेटमा अर्घाभगवती विमानस्थलमा पुग्न सकिने छ ।

अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा त्यहाँको पुरानो भगवती मन्दिरको नामबाट बन्ने सो विमानस्थलको शिलान्यास तत्कालीन उपप्रधानमन्त्री तथा ऊर्जामन्त्री टोपबहादुर रायमाझीले गतवर्ष गरेका थिए । नेता रायमाझीले सो विमानस्थलको निर्माण छिट्टै सम्पन्न गर्ने प्रतिबद्धता प्रतिनिधिसभा निर्वाचन प्रचारप्रसारका क्रममा व्यक्त गर्दै आएका थिए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट