थापाखोलाको १३.६ मेगावाट विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोडियो

प्रकाशित मिति: २४ मंसिर २०७४, आईतवार

म्याग्दी, २४ मंसिर । केन्द्रीय प्रशारण लाइनमा थापाखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् जोडिएको छ । मुस्ताङको थासा गाउँपालिका–१ टुकुचेमा निर्माण भएको उक्त आयोजनाको १३.६ मेगावाट विद्युत् केन्द्रीय प्रसारण लाइनमा थपिएको हो ।

माउन्ट कैलाश इनर्जी प्रालीले निर्माण गरेको १३.६ मेगावाट क्षमताको सो आयोजनाले गत भदौदेखि परीक्षण उत्पादन थालेको थियो । परीक्षण उत्पादन सफल भएपछि गत हप्तादेखि केन्द्रीय प्रसारण लाइनमा जोडिएको आयोजनाका सुदिप खड्काले बताए । म्याग्दीको नारच्याङस्थित तातोपानी साना जलविद्युत् आयोजनाको सव स्टेशनमार्फत केन्द्रीय प्रशारण लाइनमा जोडिएको हो । आयोजनाले उत्पादित विद्युत् केन्द्रीय प्रशारण लाइनमा जोड्न टुकुचेदेखि म्याग्दीको दानासम्म प्रसारण लाइन र दुईवटा सव स्टेशन बनाएको छ । उक्त आयोजना धौलागिरि क्षेत्रमा हालसम्म संचालन भएकामध्ये दोस्रो ठूलो हो । पाँच वर्षमा आयोजना निर्माण पूरा भएको हो ।

टुकुचे हिमालको फेदीमा बाँध रहेको आयोजनाको एक हजार आठसय ३३ मिटर सुरुङ रहेको छ । फोरवेबाट सातसय ५० मिटर पाइपमार्फत पानीलाई टर्वाइनमा खसालिएको छ । बेनी–जोमसोम सडकको टुकुचे खण्डभन्दा करिब पाँचसय मिटरभित्र आयोजनाको विद्युत् गृह छ । आयोजना निर्माणस्थल विकट क्षेत्रमा अवस्थित छ । प्रबन्ध निर्देशक भरत खड्का अनुसार सो आयोजना दुई अर्ब ५६ करोड रुपैयाँको लागतमा निर्माण भएको हो ।

भौगोलिक विकटता, प्राविधिक पक्ष परिवर्तन हुनु, भूकम्प, नाकाबन्दीका कारण अनुमान गरेको भन्दा १२ करोड रुपैयाँ लागत बढेको कम्पनीले जनाएको छ । आयोजनाले सर्वसाधारणका लागि २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता शेयर निस्काशन गर्ने जनाएको छ । शेयर निष्कासनका लागि कम्पनीले बिक्री प्रबन्धकमा एनआइबीएल क्यापिटल मार्केटससँग सम्झौता गरेको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट