नुवाकोटका सबै स्थानबाट बाम गठबन्धन विजयी

प्रकाशित मिति: २४ मंसिर २०७४, आईतवार

नुवाकोट, २४ मंसिर । नुवाकोटमा दुई प्रतिनिधिसभा सदस्य र चार प्रदेशसभा सदस्य निर्वाचन क्षेत्रका छ पदमा नै बाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् । आज अपरान्ह सम्पन्न प्रत्यक्षतर्फको अन्तिम मत परिणामअनुसार सबै पदमा बाम गठबन्धनका उम्मेदवार विजयी भएका हुन् ।

प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं.१ मा माओवादी केन्द्रका हितबहादुर तामाङ विजयी भएका छन् । तामाङले ३६ हजार चारसय ७३ र उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका डा.रामशरण महतले २७ हजार नौसय २० मत प्राप्त गरेका छन् । वि.सं.२०६४ र २०७० मा भएको संविधानसभा निर्वाचनमा डा.महतले तामाङलाई पराजय गरेका थिए ।

यस्तै प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं.२ मा एमालेका नारायणप्रसाद खतिवडा ३६ हजार आठसय ९२ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका अर्जुननरसिंह केसीले २६ हजार तीनसय ३५ मत प्राप्त गरे । यस्तै प्रतिनिधिसभा सदस्य–१ प्रदेशसभा(क) मा माओवादी केन्द्रका राधिका तामाङ १८ हजार एकसय ३७ मत ल्याई विजयी भएकी छिन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका महेन्द्र थिङले १३ हजार तीनसय ६८ मत प्राप्त गरे । यस्तै प्रदेश (ख)मा एमालेका बद्री मैनाली २० हजार पाँचसय नौ मत ल्याएर विजयी भए । कांग्रेसका रमेशकुमार महत १२ हजार दुईसय १७ मत प्राप्त गरेर उनका निकटतम प्रतिस्पर्धी बने ।

यस्तै प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं.२ प्रदेशसभा(क)मा एमालेका केशवराज पाण्डेले २० हजार नौ मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका जगदीश्वरनरसिंह केसीले १२ हजार सातसय २९ मत प्राप्त गरे । प्रदेशसभा(ख)मा माओवादी केन्द्रका हीरानाथ खतिवडा १७ हजार ६२ मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका जगतबहादुर तामाङले १४ हजार ५२ मत प्राप्त गरे । यसअघि २०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा साविकका तीन वटै निर्वाचन क्षेत्रमा कांग्रेस उम्मेदवारले जितेका थिए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट