नुवाकोटमा बामगठबन्धका उम्मेदवारले लिए अग्रता

प्रकाशित मिति: २२ मंसिर २०७४, शुक्रबार

नुवाकोट, २२ मंसिर । प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका जारी मतगणनामा बिहीबार साँझबाट सुरु भएको मतगणनाको शुक्रबार बिहान ६ बजेसम्मको परिणामअनुसार नुवाकोटमा बामगठबन्धका उम्मेदवारले अग्रता लिएका छन् ।

शुक्रबार बिहान ६ बजेसम्मको प्राप्त जानकारी अनुसार प्रतिनिधि सभा क्षेत्र नं १ मा माओवादी केन्द्रका उम्मेदवार हितबहादुर तामाङले ३ हजार ३ सय ३३ मत ल्याउँदै अग्र स्थान हासिल गरेका छन् भने कांग्रेसका उम्मेदवार डा. रामशरण महतले दुई हजार ८ सय ७१ मत प्राप्त गरेका छन् । मुख्य निर्वाचन अधिृकत लोकजङ्ग शाहका अनुसार प्रतिनिधिसभा क्षेत्र नं २ मा एमालेका उम्मेदवार नारायणप्रसाद खतिवडा तीन हजार ७० मतको साथ अग्रस्थानमा छन् भने कांग्रेसका उम्मेदवार अर्जुननरसिंह केसीले एक हजार ९ सय ७० मत प्राप्त गरेका छन् ।

प्रनिनिधिसभाको दुई र प्रदेशसभाको चार पद गरी कुल ६ पदका लागि नुवाकोटमा ४६ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन् । गत मंसिर १० गते भएको निर्वाचनमा एक लाख ३९ हजार ७ सय ६१ मतदाताले मतदान गरेका छन् । बामगठबन्धका उम्मेदवारले प्रतिनिधिसभातर्फ जस्तै प्रदेशसभातर्फ पनि अग्रता लिएका छन् ।

माओवादी केन्द्रका उम्मेदवार राधिका तामाङ प्रतिनिधिसभा क्षेत्र नं १ को (क) तर्फ एक हजार ५२५ मतको साथ अग्रस्थानमा रहेकी छन् भने कांग्रेसका उम्मेदवार महेन्द्र थिङले एक हजार ४१ मत प्राप्त गरेका छन् । यस्तै प्रदेश (ख) तर्फ एमालेका बद्री मैनालीले एक हजार ७३९ मत ल्याएर अग्रस्थान हात पार्दा कांग्रेसका उम्मेदवार रमेशकुमार महतले एक हजार ११९ मत प्राप्त गरेका छन् ।

प्रतिनिधिसभा क्षेत्र नं २ को प्रदेश (क) मा एमालेका उम्मेदवार केशवराज पाण्डेले एक हजार ९४८ मत ल्याएर अग्रस्थानमा छन् । उनका प्रतिद्वन्दी कांग्रेसका उम्मेदवार जगदीशनरसिंह केसीले एक हजार ३३४ मत प्राप्त गरेका छन् । यस्तै प्रदेश (ख) तर्फ माओवादी केन्द्रका उम्मेदवार हिरानाथ खतिवडा एक हजार ५२६ मत ल्याएर अग्रस्थानमा छन् भने कांग्रेसका उम्मेदवार जगतबहादुर तामाङले एक हजार ३८८ मत प्राप्त गरेका छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट