निर्वाचनको सम्पूर्ण तयारी पूरा : निर्वाचन आयोग

प्रकाशित मिति: २० मंसिर २०७४, बुधबार

काठमाडौं, २० मंसिर । आज निर्वाचन आयोगले पत्रकार सम्मेलन गरी बिहीबार हुने दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले ४५ जिल्लामा बिहीबार हुन लागेको निर्वाचनको तयारी पूरा भएको जानकारी दिँदै भोलि देशका ४५ जिल्लाका प्रतिनिधिसभा १२८ र प्रदेशसभाका २५६ निर्वाचन क्षेत्रमा मतदान हुने जानकारी दिए । भोलि हुने निर्वाचनमा प्रतिनिधिसभा सदस्यका लागि १ हजार ६ सय ६६ तथा प्रदेशसभा सदस्यका लागि २ हजार ८ सय १९ गरी ४ हजार ४ सय ८२ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

यस्तै, समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत प्रतिनिधिसभाका ११० सिट र प्रदेशसभाका २२० सिटका लागि ५ हजार ८ सय ३८ जना प्रतिस्पर्धामा छन् । प्रमुख आयुक्त यादवले मतदातालाई निर्वाचनमा पूर्ण सुरक्षा व्यवस्था मिलाइएको भन्दै निर्धक्क भएर मताधिकार प्रयोग गर्न आग्रह गरेका छन् । बिहीबार बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म आफ्नो मतदाता नामावलीमा नाम रहेको मतदान केन्द्रमा प्रवेश गर्ने सबैले मतदान गर्न पाउने आयोगले जनाएको छ ।

मतदाता नामावलीमा नाम भएका तर मतदाता परिचयपत्र लिन असमर्थ मतदाताले नागरिकता वा कुनै पनि मान्यताप्राप्त सरकारी परिचयपत्र लिएर मतदान गर्न पाउने व्यवस्था मिलाइएको आयोगले जानकारी दिएको छ । यसका साथै निर्वाचन आयोगले अपांगता, गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, अशक्त वा बिरामी मतदातालाई प्राथमिकता दिइ मतदान गर्न पाउने व्यवस्था गरेको जनाएको छ । भोलि हुने निर्वाचनमा ४५ जिल्लाका १ करोड २२ लाख ३९ हजार ९ सय ९३ मतदाता सहभागी हुनेछन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट