निर्वाचन विरोधी तीन भारतीयसहित ११ जना पक्राउ

प्रकाशित मिति: २० मंसिर २०७४, बुधबार

सप्तरी, २० मंसिर । भोली हुन लागेको प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनलाई प्रभाव पार्ने गरी निर्वाचन विरोधी गतिविधि गर्ने तीन भारतीयसहित ११ जनालाई सप्तरी प्रहरीले पक्राउ गरेको छ । निर्वाचनका लागि सप्तरीमा सुरक्षा व्यवस्था कडा पार्ने क्रममा प्रहरीले विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो ।

अभियुक्तका साथबाट एक/एक थान हतियार बम समेत बरामद गरिएको छ । पक्राउ परेकामध्ये छ जना नेकपा (बिप्लव)का कार्यकर्ता रहेको बताइएको छ ।

नेपाल–भारत सीमा नाका बन्द

निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित रुपमा सम्पन्न गर्न सप्तरीमा सुरक्षा व्यवस्था कडा पारिनुका साथै नेपाल–भारत सीमा नाका आजदेखि ३६ घण्टाका लागि बन्द गरिएको छ । सप्तरी प्रशासनले भारतसँग सीमा जोडिएका कुनौली, बेल्ही भन्सार, कुशहालगायतका नाका बन्द गरी सुरक्षा जाँच कडा पारिएको प्रजिअ भागीरथ पाण्डेयले जनाए ।

दुवै देशका सीमा सुरक्षा पदाधिकारीको बैठकपछि आजदेखि निर्वाचन हुने दिन बिहीबारसम्मका लागि ३६ घण्टा सवारी साधन र पैदल यात्रुलाई आवतजावतमा रोक लगाइएको छ । जिल्ला सुरक्षा समितिले निर्वाचन प्रयोजनका लागि सुरक्षा रणनीतिक तथा कार्यनीतिक योजनाअन्तर्गत जिल्लाका चार प्रतिनिधि र आठ वटै प्रदेशसभा सदस्य निर्वाचन क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तैनाथ गरिएको छ । सुरक्षा व्यवस्थापनअन्तर्गत जिल्लाको सीमा क्षेत्रमा दुवै देशका संयुक्त सुरक्षा फौजले संयुक्त रुपमा जाँच गरिरहेको जनाइएको छ । अतिआवश्यक समस्यामा परेकालाई भने सीमा क्षेत्रमा रहेका सुरक्षाकर्मीको विशेष जाँचपछि मात्र जान दिन सकिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट