बोटे समुदायको पहिलो मुद्दा गाँस, बाँस, कपास

प्रकाशित मिति: १८ मंसिर २०७४, सोमबार

पाल्पा, १८ मंसिर । आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन आउन केही दिन मात्र बाँकी रहँदा पाल्पाका बोटे समुदायमा अझै चुनावी चहलपहल देखिएको छैन । बोटे समुदायका मानिसले दलका स्थानीय तहका नेतासँग गाँस बाँस र कपास नै आफूहरुको पहिलो मुद्दा रहेको बताउँदै आए पनि दलका प्रभावशाली नेतालाई भने बोटे बस्ती कस्तो छ भन्ने नै थाहा छैन ।

निर्वाचनमा दलका नेता कार्यकर्ता भोट माग्दै सभा, सम्मेलन र घरदैलोमा जुट्दा पुख्र्यौली पेशामै जीवन निर्वाह गर्ने बोटे समुदायमा भने चुनावी उत्साह नै छैन । चुनाव नजिकिँदै गर्दा मत माग्न पुगेका सबै दलका नेता तथा कार्यकर्ताले आश्वासन बाहेक उनीहरूसंग प्रत्यक्ष भेटका पनि छैनन । चुनाव जितेपछि उम्मेदवार गाउँ नै नपस्ने गरेकाले अब हुने निर्वाचनमा कसलाई भोट दिने भन्नेमा उनीहरू अन्यौलमै छन् । जिल्लामा बगनासकाली, रम्भा गाउँपालिका र रामपुर नगरपालिकाभित्र बोटेको बस्ती छ ।

पाल्पाको बग्नासकाली गाउँपालिका–७, दैलातुङका बोटे समुदायमा चुनावभन्दा साँझ बिहान छाक कसरी टार्ने भन्ने चिन्ताले सताइरहको छ । कालीगण्डकी नदीबाट डुंगा तारेर दैनिक गुजारा चलाउँदै आएका बोटे समुदाय सो नदीमा पुल बनेपछि आयआर्जनको स्रोत गुमेकाले समस्यामा परेका हुन् । डुंगा चलाउने पेशाबाट विस्थापित भएपछि बगनासकाली दैलातुङ्गका १७ घर बोटे परिवार पालनपोषणका लागि खर्च जुटाउन ज्याला मजदुरी गर्नुपर्ने वा भारत जानुपर्ने बाध्यता रहेको बोटे समुदायका अगुवा गजवीर बोटेको दुखेसो छ ।

पाल्पाको कूल जनसंख्याको ०.३१ प्रतिशत बोटे समुदाय छन् । वि.सं.२०६८ को जनगणनाअनुसार पाल्पामा बोटेको संख्या आठसय दुई पुगेको थियो, तीमध्ये पुरुष तीनसय ६१, महिला चारसय ४२ जना थिए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट