आर्थिक विकास र समृद्धिका लागि लोकतान्त्रिक गठबन्धन आवश्यक : मन्त्री थापा

प्रकाशित मिति: १८ मंसिर २०७४, सोमबार

काठमाडौं, १८ मंसिर । आज बालाजुमा आयोजना गरेको चुनावी सभामा महिला, बालबालिका तथा समाजकल्याणमन्त्री विक्रमबहादुर थापाले काठमाडौं निर्वाचन क्षेत्र नं.७ मा संयुक्त लोकतान्त्रिक गठबन्धनले देशमा राजनीतिक अस्थिरताको अन्त्य गरी जनतालाई आर्थिक पहुँच विस्तार गर्न विभिन्न योजना र दृष्टिकोण लोकतान्त्रिक शक्तिसँग भएको जिकिर गरेका छन् । सम्बोधनका क्रममा थापाले मुलुकमा आर्थिक विकास र समृद्धिका लागि लोकतान्त्रिक गठबन्धन आउनु आवश्यक रहेको भन्दै बहुमतका लागि भोट दिन जनतालाई आग्रह गरेका हुन् ।

मन्त्री थापाले विभिन्न समयमा भएका परिवर्तनलाई संस्थागत गरी देशमा सामाजिक रुपान्तरणका लागि उक्त गठबन्धनलाई जनताले विश्वास गरी मतदान गर्नुपर्नेमा जोड दिए । देशमा वैदिक सनातन हिन्दू राष्ट्र र संवैधानिक राजसंस्था कायम गर्ने पार्टीको सिद्धान्तलाई कार्यान्वयन गर्न निर्वाचनमा जनताले सो गठबन्धनलाई जिताउन खाँचो रहेको उनले प्रस्ट पारे । उक्त क्षेत्रको ग्रामीण भागमा करिब चार हजार भूकम्प प्रभावितलाई सरकारले दिने भनेको तीन लाख उनीहरूले प्राप्त गर्न नसकेकामा चिन्ता व्यक्त गर्दै सो रकम चाँडो उपलब्ध गराउने प्रतिबद्धता समेत उनले जनाए ।

कार्यक्रममा प्रदेश (१)का उम्मेदवार विजयबहादुर मालीले स्थानीय पूर्वाधार विकास तथा निर्माणमा तारकेश्वर नगरपालिका र नागार्जुन नगरपालिकाबीच समन्वय र सहयोगको आवश्यकता रहेको विचार व्यक्त गरे । प्रदेश (२)का उम्मेदवार धर्मराज अर्यालले स्थानीय नागिनी खोलादेखि लोलांग पिपलबोटसम्मको सडक स्तरोन्नति, आठ माइल डाडागाउँको विकास गरी पर्यटन क्षेत्र विकास गर्नेलगायत कार्य प्राथमिकतामा रहेको प्रस्ट पारे । माली र अर्याल दुवै नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार हुन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट