अष्टमी गुरुङको हत्यारालाई कारवाहीको माग गर्दै रबि लामिछाने यूएईमा

प्रकाशित मिति: १८ मंसिर २०७४, सोमबार

यूएई  । “सिधा कुरा जनतासँग” कार्यक्रमका संचालक एवं पत्रकार ‘रबि लामिछाने‘ यूएई आएका छन् । दुबईस्थित अन्तर्रास्ट्रिय विमानस्थलको टर्मिनल २ मार्फत सोमबार बिहान २ बजे यूएई आई पुगेका लामिछानेलाई ‘एनआरएनए’ यूएई, नेपाल पत्रकार महासंघ यूएई, विभिन्न संघ संस्थाका प्रतिनिधि, ब्यवसायीलगायत यूएईमा कार्यरत नेपालीहरु विमानस्थलमै पुगेर स्वागत गरेका थिए ।

यूएईको राजधानी आबुधाबीस्थित एक क्लिनिङ कम्पनीमा कार्यरत गोर्खाकी नेपाली चेली ‘अष्टमी गुरुङ’ले आत्महत्या गर्नुको कारण बारे सिधाकुरा जनतासँग कार्यक्रममा प्रसारण भएपछि उक्त घटनाको गहिराई सम्म पुग्न र गुरुङलाई आत्महत्या सम्म गर्ने अवस्थामा पुर्याउने ब्यक्तिलाई कारवाहीको माग गर्दै रबि लामिछाने यूएई आएका हुन् ।

आत्महत्या गरेर दाहसंस्कार सम्म गरिसकेपछि मृतक अष्टमी गुरुङका दाईले अष्टमीले आत्महत्या गर्नुभन्दा अगाडी उनकै मोबाइलमा रेकर्ड गरेको भिडियो टेप फेला पारेर न्युज २४ टेलिभिजनलाई घटनाको बारेमा जानकारी गरायपछि घटना एकाएक चर्चामा आएको थियो । गुरुङ भाषामा रेकर्ड गरिएको उक्त भिडियोमा अष्टमीले आफूलाई कम्पनीकै एक सुपरभाईजरले बलात्कार गरेकै कारण आत्महत्या गर्न बाध्य भएको बताएकी छन्।

सोही घटनालाई लिएर मृतक गुरुङको परिवारलाई समेत भेटेका रबि लामिछानेले दोषीलाई कानुनको जिम्मा लगाएर परिवारलाई न्याय दिलाई छाड्ने भन्दै यूएई आईपुगेका हुन्। यसै विषयमा छलफल तथा अन्य समसामयिक विषयमा कुराकानी गर्न सोमबार बेलुकी ५ बजे ‘नेपाली दूतावास आबुधावी’मा यूएईमा रहेका विभिन्न संघ संस्था र यूएईमा कार्यरत नेपालीहरुसँग भेटघाट कार्यक्रम समेत गर्ने रबिले बताएका छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट