मतदाता परिचयपत्र नहुने भारतीय पेन्सनधारी नेपाली समस्यामा

प्रकाशित मिति: १७ मंसिर २०७४, आईतवार

बैतडी, १७ मंसिर । मतदाता परिचयपत्र नबनाएका भारतीय पेन्सनधारी नेपालीलाई अहिले समस्या भएको छ । भारतीय बैंकले मतदाता परिचयपत्र अनिवार्य गरेपछि सयौँ भारतीय पेन्सन लिइरहेका नेपाली समस्यामा परेका हुन् ।

नेपाली नागरिकलाई नागरिकतासँगै मतदाता परिचयपत्र मागेको हो । भारतीय बैंकले सबैको पेन्सन खाता अद्यावधिक गर्न लागेको छ । भारतीय नागरिकको पनि नागरिकतासँगै आधार कार्डलगायतका अन्य पहिचान खुल्ने कागजात खोजेको छ । भारतीय बैंकले डिसेम्बर १५ तारिखभित्र कागजात बुझाउन सूचना जारी गरेको छ ।

भारतीय सेना, प्रहरीमा कार्यरत श्रीमानको पेन्सन लिने अधिकांश महिलाको मतदाता परिचयपत्र लिएका छैनन् । निर्वाचन नसकिएसम्म नयाँ परिचयपत्र बनाउन नाम दर्ता गर्न नसकिने भएकाले तत्काल केही गर्न नसकिने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । दिनहुँ समस्या लिएर आउनेको संख्या बढेकाले गृह मन्त्रालय र निर्वाचन आयोगलाई जानकारी पठाउन लागेको सहायक प्रमुख जिल्ला अधिकारी दीपककुमार आचार्यले बताए । प्रदेश नं.७ का बैतडी, डडेल्धुरा, दार्चुला र कञ्चनपुरमा भारतीय सेना र प्रहरीबाट पेन्सन सुविधा लिने दुई हजारबढी छन् । मतदाता परिचयपत्र नबुझाएसम्म पेन्सन रोकिनसक्ने जिल्ला सैनिक बोर्डले जनाएको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनपश्चात् निर्वाचन आयोगले निर्देशन दिएपछि मात्रै मतदाता नामावली संकलन कार्य हुनसक्ने जिल्ला निर्वाचन अधिकारी माधवप्रसाद फुयाँलले बताए ।

परिचयपत्र नहुँदा खाता नवीकरण गर्न नसकेको भारतको बंगाल प्रहरीबाट सेवानिवृत्त दशरथचन्द–७ का रामदत्त बडूकी श्रीमती कमलादेवी बडूले बताइन् । उनले अन्य समयमा आवश्यक नभएकोले परिचयपत्र बनाउन टोली आएका बेला ध्यान नपुगेको र अहिले बैंकले मतदाता परिचयपत्र नभएसम्म नमान्ने भएको जनाइन् । नाम फरक परेका, विवरण नमिलेका लगायतका समस्या जिल्ला प्रशासन कार्यालयको सिफारिसका आधारमा सुल्झिदै आएका थिए । यसपटक मतदाता परिचयपत्र खोजेकाले समस्या परेको हो ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट