पत्रकारहरुले साझा दायित्व र मूल मर्मलाई बिर्सन हुन्न : महासचिव बिष्ट

प्रकाशित मिति: १३ मंसिर २०७४, बुधबार

पोखरा, १३ मंसिर । नेपाल पत्रकार महासंघका महासचिव रमेश बिष्टले पत्रकारले आफ्नो साझा दायित्व र मूल मर्मलाई बिर्सन नहुने बताएका छन् । नेपाल पत्रकार महासंघ कास्कीले पोखरामा आयोजना गरेको निर्वाचनमा मिडियाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा महासचिव बिष्टले पत्रकार समाजको पनि पहरेदार र पर्यवेक्षक भएका कारण निर्वाचनको निष्पक्षताका लागि पनि मूल्याकंन गर्न आग्रह गरे ।

उनले महसंघले पेशागता मूल्य मान्यता सहितको परिणाम आउने गरी कार्य थाल्ने समेत बताए । महासचिव बिष्टले पत्रकारहरु निर्वाचनको सत्य तथ्य समाचार संकलन गर्न र सूचना प्राप्त गर्न मतदान केन्द्र सम्म पुग्न सहज वातावरण हुनुपर्ने समेत बताए । उनले श्रमजिवी पत्रकारहरुको विषयमा धाराणा राख्दै यति बेला श्रमजिवी पत्रकारहरुको कुरा हात्तीले छामे जस्तै भएको बताए ।

उनले ठूला, सक्षम र व्यवसायिक भनिएका मिडियामा कार्यरत श्रमजिवी पत्रकारहरुले समेत उचित पारश्रमिक नपाएको तर्फ इगिंत गर्दै भने ‘महासंघले उनीहरु बाटनै काम थालेका मात्र नभइ ठोस र परिणाममुखी कार्य गर्दैछौं ।’ यसका लागि श्रमजिवी पत्रकारहरुको हितका लागि ऐनमा परिणाम आउने समेत गरी सुधार थाल्ने उनले बताए ।

महासचिव बिष्टले महासंघमा शुद्धिकरण अभियानलाई तिव्रता दिँदै सम्पूर्ण पत्रकार क्षमता अभिवृद्धिका लागि प्रादेशिक स्तरमा प्रशिक्षण प्रतिष्ठानको गठनका लागि समेत महासंघले पहल थालेको जानकारी दिए । उनले सदस्यता शूल्कबाट उठेको रकमले यो तिन वर्षमा पत्रकार कल्याणकारी कोषलाई ५ करोड सम्म पुर्याउने बताए ।

नेपाल पत्रकार महसंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा महासंघका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवाली, पूर्व उपाध्यक्ष गंगाधर पराजुली, पूर्व अध्यक्ष पुण्य पौडेल र सहसचिव दिननाथ बरालले पत्रकारहरुले राखेका विभिन्न प्रश्नहरुको जवाफ दिएका थिए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट