आचारसंहिता उल्लंघन गरेको भन्दै स्वास्थ्यमन्त्री दीपक बोहोराको उम्मेदवारी खारेजीको माग

प्रकाशित मिति: १३ मंसिर २०७४, बुधबार

बुटवल, १३ मंसिर । स्वास्थ्यमन्त्री एवम् राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) दीपक बोहोराले निर्वाचन आचारसंहिताविपरित आफ्नो निर्वाचन क्षेत्रमा बिजुलीका पोल तथा पैसा बाँडेको भन्दै उम्मेदवारी खारेजीको मागसहित निर्वाचन कार्यालयमा उजुरी परेको छ ।

स्वास्थ्यमन्त्री बोहोरा रुपन्देही क्षेत्र नम्बर-३ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार हुन् । गत शनिबार राति २२ थान बिजुलीको पोल स्वास्थ्यमन्त्री बोहोराले मतादातालाई प्रभावित गर्ने गरी शुद्धोधन गाउँपालिका–४ को जुगडीहवा र वडा नम्बर ५ को शीतलपाटीको थारु गाउँमा बाडेको आरोप लागेको छ । तर आफूले आचारसंहिता विपरीत कुनै काम नगरेको भन्दै विद्युत पोल वितरण गरेको आरोपको मन्त्री बोहोराले खण्डन गरेका छन् ।

शुद्धोधन गाउँपालिका–४ का वडाध्यक्ष राजेन्द्र कँडेल, वडा नम्बर ३ का वडाध्यक्ष हेमबहादुर खड्का र वडा नम्बर ५ का वडाध्यक्ष पुन्यराम गौतम, वडा सदस्य हेमन्त थापा, भुनेश्वर थारुलगायत १०० जनाभन्दा बढी सर्वसाधारणले हस्ताक्षर गरी निर्वाचन आचारसंहिता विपरीत जनतालाई प्रलोभन दिने उम्मेदवारको उम्मेदवारी खारेजी गर्न माग गरेका हुन् ।

निर्वाचन आचारसंहिता अनगुमगन समिति रुपन्देहीका सदस्य खिमप्रसाद अर्यालको टोली सो ठाउँमा निर्वाचन आचारसंहिता विपरीत बिजुलीको पोल खसालेको भन्दै परेको उजुरीको छानबिन गर्न सोही ठाउँमा पुगी स्थलगत अध्ययन गरेको छ ।

जिल्ला निर्वाचन कार्यालयका प्रमुख अयोध्याप्रसाद भण्डारीले निर्वाचन अधिकृत कार्यालयको आचारसंहिता अनुगमन टोलीले आचारसंहिता अनुगमन उल्लंघनको अनुगमन गरी तत्काल ती पोल शुद्धोधन गाउँपालिकाको मातहतमा राखिएको र निर्वाचनपछि आवश्यक छलफल गरी ती  पोल वितरण गर्ने बताएका छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट