पूर्वसभामुख ढुंगानाद्वारा चरित्रवान नेतालाई मतदान गर्न आग्रह

प्रकाशित मिति: ११ मंसिर २०७४, सोमबार

काठमाडौं, ११ मंसिर । पूर्वसभामुख तथा कांग्रेसका नेता दमननाथ ढुंगानाले राजनीति कमाइ गर्ने पेशा नभई सामाजिक सेवा भएकाले राजनीतिबाट कमाउन चाहनेले राजनीतिलाई प्रदूषित हुनबाट जोगाउनुपर्ने बताएका छन् । कांग्रेस, बालकोट इकाइ समितिद्वारा आयोजित चुनावीसभालाई सम्बोधन गर्ने क्रममा उपस्थित जनसमुदायलाई सम्बोधन गर्दै ढुंगानाले निर्वाचनमा हारजित जुनसुकै पक्ष विपक्षको भए पनि राजनीतिभित्र भ्रष्टाचार मौलाउँदै गएकाले नैतिक चरित्र बोकेका नेतालाई मतदान गर्न आग्रह गरे ।

उनले निष्ठा, पारदर्शिता र चरित्रवान नेताको समाजमा अभाव देखिएकाले नेताप्रति जनताको विश्वास घट्दै गएको बताए । मंसिर २१ गते मुलुकभर हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सन्दर्भमा यहाँ आयोजित चुनावीसभालाई सम्बोधन गर्दै ढुंगानाले खर्चालु चुनावलाई नरोक्ने हो भने युवा भ्रष्ट हुने र कालान्तरमा समाजमा निष्ठाको राजनीति हराउँदै जाने बताए । उनले राजनीतिमा देखिएको विकृतिलाई हटाउन, संविधान र संघीयता कार्यान्वयन गर्न र छुटेका विषयलाई संविधानमा उल्लेख गरी भ्रष्टाचारमुक्त समतामूलक समाजको निर्माणका लागि आफू कांग्रेसको उम्मेदवार भएको बताए ।

भक्तपुरको क्षेत्र नं.२ मा प्रतिनिधिसभातर्फ लोकतान्त्रिक गठबन्धनबाट पूर्वसभामुख दमननाथ ढुंगाना, वाम गठबन्धनबाट पूर्वमन्त्री महेश बस्नेत र नेमकिपाबाट निवर्तमान सांसद अनुराधा थापा मगरको उम्मेदवारी परेको छ । सो क्षेत्रमा मध्यपुर ठिमी नगरपालिका र सूर्यविनायक नगरपालिका पर्छ ।

त्यसैगरी सो समारोहमा भक्तपुरको प्रदेशसभा (सूर्यविनायक)–१ का लागि कांग्रेसबाट उम्मेदवार बनेका युवा नेता अंगत खड्काले भक्तपुरमा देखिएको बेरोजगार समस्यालाई समाधान गर्न आफूले एक युवा स्वरोजगार कोष स्थापन गरी विकास निर्माणमा अघि बढ्ने बताए । उक्त क्षेत्रमा कूल ८३ हजार नौसय ३१ मतदाता रहेका छन् । क्षेत्र नं.२ अन्तर्गतको प्रदेश नं.१ (सूर्यविनायक) मा लोकतान्त्रिक गठबन्धनबाट अंगत खड्का र वाम गठबन्धनबाट शशिजंग थापा, एवं नेपाल मजदुर किसान पार्टीबाट सरोजराज गोसाइ चुनावी मैदानमा छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट