उत्साहका साथ ३२ जिल्लाका मतदाताले मतदान गर्दै

प्रकाशित मिति: १० मंसिर २०७४, आईतवार

काठमाडौं, १० मंसिर । आज ३२ जिल्लाका ३७ प्रतिनिधिसभा र ७४ प्रदेशसभा सदस्यका लागि मतदान चलीरहेको छ । संघीयता कार्यान्वयनका लागि संविधान जारी भएपछि मुलुकमा पहिलोपटक प्रतिनिधि र प्रदेशसभाका लागि चुनाव हुन लागेको हो ।

प्रतिनिधिसभातर्फ ३७ पदका लागि २ सय ८२ जना उम्मेदवार मैदानमा उत्रिएका छन् भने महिला उम्मेदवारको संख्या जम्मा १६ रहेको निर्वाचन आयोगले जनाएको छ । यस्तै प्रदेशसभाका ७४ निर्वाचन क्षेत्रका लागि ४ सय २० जना चुनावी मैदानमा छन् भने प्रदेशसभामा ४ सय पुरुष र २० जना महिला उम्मेदवार र प्रतिनिधिसभा र प्रदेशसभाका १ सय ११ पदका लागि ७ सय २ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।

पहिलो चरणमा प्रदेश-१ का सोलुखुम्बु, संखुवासभा, भोजपुर, ओखलढुंगा, ताप्लेजुङ, पाँचथर र खोटाङ, प्रदेश-३ का नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, प्रदेश-४ का मुस्ताङ, म्याग्दी, बाग्लुङ, मनाङ, लमजुङमा निर्वाचन चलीरहेको छ । यस्तै प्रदेश-४ का मुस्ताङ, म्याग्दी, बाग्लुङ, मनाङ, लमजुङ, गोरखा, प्रदेश-५ का रूकुम (पूर्वीभाग) र रोल्पा, प्रदेश-६ का रूकुम (पश्चिम भाग), जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालिकोट, डोल्पा तथा प्रदेश-७ का दार्चुला, बझाङ, बाजुरा र बैतडीमा निर्वाचन भइरहेको छ।

प्रदेश-२ मा कुनै पनि पहाडी जिल्ला नभएकाले उक्त प्रदेशका सबै ८ जिल्लामा दोस्रो चरणमा मतदान हुने आयोगले जनाएको छ । पहिलो चरणमा ३१ लाख ९१ हजार ९ सय ४५ मतदाताले आफ्नो मततधिकारको प्रयोग गरिरहेका छन् भने पहिलो चरणमा २ हजार ९ सय १९ मतदान स्थल र ४ हजार ४ सय ६५ मतदान केन्द्र निर्धारण गरिएको छ । यसका साथै समानुपातिकतर्फ ८८ दलले भाग लिएका छन् । निर्वाचन आयोगले बिहान ७ देखि साँझ ५ बजेसम्म निर्वाचन गर्न समय तोकेको छ ।

आज हिमाली र उच्च पहाडी जिल्लामा भइरहेको मतदान सबैजसो जिल्लाहरूमा शान्तिपूर्ण रुपमा चलीरहेको हाम्रा प्रतनिधिहरुले जानकारी दिएका छन् । केही मतदान स्थलमा बम फेला परे पनि अहिले सबैजसो मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ । दोस्रो चरणअन्तर्गत ४५ जिल्लामा मंसिर २१ गते मतदान हुनेछ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट