पतिशोकमा रहेकी प्रचण्डकी बुहारी चुनाव प्रचारप्रसारमा

प्रकाशित मिति: १० मंसिर २०७४, आईतवार

कञ्चनपुर, १० मंसिर । पतिशोकमा रहेकी प्रचण्डकी बुहारी यतिबेला चुनाव प्रचारप्रसारमा सक्रिय हुन थालेकी छिन् । आसन्न चुनाव प्रचारप्रसारकै समयमा यही मंसिर ३ गते प्रकाश दाहालको असामयिक निधनपछि शोकमा परेकी प्रतिनिधिसभा सदस्य उम्मेदवार बिना मगर काठमाडौंबाट जिल्लामा पुगी पुनः प्रचारमा खटिएकी हुन् ।

निर्वाचन क्षेत्र नं.१ मा वाम गठबन्धनबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बिना कञ्चनपुर फर्किएर पुनःचुनावी प्रचारप्रसारमा सहभागी भएकी हुन् । पतिशोकमा रहेकी मगरले आफ्नो निर्वाचन क्षेत्र पुगेर प्रेस विज्ञप्ति जारी गर्दै निर्वाचनको महासंग्राममा रहेको बेला जीवनसाथी गुमाउनु पर्दाको पीडा आफ्ना लागि ठूलो चोट भए पनि व्यक्तिगत पीडाभन्दा राष्ट्रलाई समृद्धिको नयाँ युगमा प्रवेश गराउने जिम्मेवारी ठूलो भएको महसुस गरिएको जनाएकी छिन् ।

विज्ञप्तीमा ‘मैले आफ्नो राजनीतिक यात्राका क्रममा सुख र दुःखमा सधैँ तपाईंहरूको माया, साथ र स्नेह पाउँदै आएकी छु । त्यसैले राजनीतिक र व्यक्तिगत जीवनको उतारचढावमा मैले भोगेका हारजीतले यस क्षेत्रका जनताप्रति मेरो जिम्मेवारीबोधलाई कहिल्यै असर गरेन । यस क्षेत्रलाई समृद्ध रुपमा विकास गर्ने मेरो सपना हो । त्यसैले यतिखेर परिवारमा परेको पीडा झेल्दै कञ्चनपुरको दुर्गम दक्षिणी क्षेत्रका जनताको सेवा गर्ने अठोटका साथ पुनः तपाईंहरूमाझ फर्किएकी छु ।’ भनिएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट