चमेलियाबाट ३० मेगावाट क्षमताको विद्युत् प्रसारण शुरु

प्रकाशित मिति: ७ मंसिर २०७४, बिहीबार

दार्चुला, ७ मंसिर । सन् २००७ देखि निर्माण कार्य शुरु भएको ३० मेगावाट क्षमताको चमेलिया जलविद्युत् आयोजनाको झण्डै १० वर्षपछि आजदेखि प्रसारण शुरु भएको छ । दार्चुलाको बलाँचदेखि कैलालीको अत्तरिया सवस्टेसन जोड्ने १३२ केभी प्रसारण लाइनमा आजदेखि विद्युत् प्रभाव भएको हो ।

आयोजना प्रमुख अजय दाहालका अनुसार आयोजनाले गत भदौमा परीक्षण गरिएको प्रसारण लाइनलाई आज चार्ज गरेको हो । प्रसारण लाइनमा प्रयोग भएका टावर, तारलगायतका अन्य संरचना नछुन आयोजनाले सूचनामार्फत सबैमा जानकारी गराएको छ । एक सय एकसय ३१ किलोमिटर लामो सो प्रसारण लाइनमा कूल चारसय १२ वटा टावर रहेका छन् । तत्काल सिंगल सर्किटबाट चमेलियाबाट उत्पादित बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको आयोजना प्रमुख दाहालले बताए ।

चमेलिया आयोजनाका लागि निर्माण गरिएको प्रसारण लाइन डबल सर्किट बनेपछि चमेलिया, पश्चिम सेती जलाधार क्षेत्रमा निर्माणाधीन अन्य साना–ठूला जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली पनि राष्ट्रिय प्रसारण लाइनमा जोड्न सहज हुने दाहालले जनाए । चमेलिया जलविद्युत् आयोजनाको शुरुको अनुमानित लागत आठ अर्ब ५० करोड थियो तर झण्डै १० वर्षको अवधिसम्म १५ अर्ब ५० करोड रुपैयाँभन्दा बढी खर्च भएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट