पाँचथरमा चुनाव प्रचार उत्कर्षमा, ठूला सभा सम्पन्न गर्दै दलहरु

प्रकाशित मिति: ५ मंसिर २०७४, मंगलवार

पाँचथर, ५ मंसिर । पाँचथर लगायत ३२ हिमाली तथा पहाडी जिल्लामा पहिलो चरणमा हुन लागेको प्रतिनिधि सभा सदस्य तथा प्रदेशसभा सदस्यको मिति नजिकिँदै जाँदा दलहरु तथा उम्मेदवारहरुले चुनाव प्रचार उत्कर्षमा पु¥याएका छन् । अब मंगलबार, बुधबार र बिहीबार मात्रै चुनाव प्रचारका औपचारिक कार्यक्रम हुँदैछन् । निर्वाचन सुरु हुनुभन्दा ४८ घण्टा पहिलेबाट मौन अवधि सुरु हुने भएकाले चुनाव प्रचार उत्कर्षमा पुगेको हो ।

संयुक्त बाम गठबन्धनले चुनावी सभाहरु मंगलबारबाटै सम्पन्न गर्दैछ । मंगलबार फिदिम नगरपालिका–५, चोकमागू र याङवरक गाँउपालिका–६ नागीमा चुनावी आमसभा गर्दै चुनावी सभाहरु सम्पन्न गर्ने गठबन्धनको तयारी छ । बुधवारबाट घरदैलो तथा भेटघाटको कार्यक्रम तय गरिएको गठबन्धनले जनाएको छ । कांग्रेसले पाँचथर क्षेत्र नं. १ मा सोमबारबाटै चुनावी सभाहरु सम्पन्न गरिसकेको नेपाल विद्यार्थी संघका अध्यक्ष तुलसी आचार्यले बताए । पाँचथर क्षेत्र नं. २ मा भने आगामी बिहीबार घुर्विसेपञ्चमीमा चुनावी सभा तय गरिएको कांग्रेस प्रचार विभाग प्रमुख एवं जिल्ला सचिव वृजहाङ आङ्देम्बेले बताए ।

मूख्य गठबन्धनका अतिरिक्त संघीय समाजावादी फोरम, संघीय लिम्बुवान मञ्च, नयाँ शक्ति पार्टी, नेकपा (माले) लगायतले पनि चुनावी सभा र भेटघाट तिव्र पारेका छन् । चुनावको मिति एक हप्ताभन्दा कम रहँदा दल तथा उम्मेदवारहरुलाई मतदातामाझ आफ्ना एजेण्डा राख्न भ्याई नभ्याई छ । तुम्बेवाको मौवा बजार तथा फाल्गुनन्दको इम्बुङमा आयोजित बाम गठबन्धनका चुनावी सभालाई पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले सम्बोधन गरेर मत मागेका छन् । उनीसँगै माओवादी केन्द्रका युवा नेता लेखनाथ न्यौपाने समेतले चुनावी सभाबाट मत मागेका छन् । एमाले सचिव योगेश भट्टराई याङवरक गाँउपालिका–६ नागी आयोजित चुनावी सभामा सहभागी हुँदैछन् । यस्तै संघीय समाजवादी फोरमका केन्द्रीय उपाध्यक्ष रकम चेम्जोङ घुर्विसेपञ्चमी लगायतका स्थानमा आयोजित सभामा सहभागी हुँदैछन् ।

चुनाव नजिकिएसँगै चुनाव प्रचार उत्कर्षमा पुगेको देखिएको छ । यस पटक पाँचथर सदरमुकाम फिदिमर्मा चुनावी माहौल देखिएन । बजार सुनसान प्रायः देखिएको छ । स्थानीयवासी तथा व्यवसायीहरु समेत चुनावी सभामा गाँउ–गाँउ पुगेका भेटिन्छन् । तर, ग्रामीण भेगमा भने चुनावी माहौल उत्कर्षमा पुगेको छ । घर–घरमा दल तथा गठबन्धनका झण्डा, पोष्टर, पम्प्लेटले सजिएका छन् । फिदिम बाहिरका अन्य बजारहरुमा दैनिकजसो चुनावी सभा हुँदै आएको स्थानीयको भनाई छ ।

प्रचार उत्कर्षमा पुगेसँगै मतदातामा समेत उत्साह सिर्जना भएको पाइन्छ । मूख्य दलहरु र तिनका उम्मेदवारले यो चुनावमा समृद्धिका मुद्दालाई आफ्नो एजेण्डा बनाएका छन् । संघीय समाजवादी फोरम, लिम्बुवान मञ्च लगायतले संविधान संशोधन र पहिचान सहितका राज्य निर्माणलाई मूख्य मुद्दा बनाएका छन् । मुद्दाका कारण पनि मतदातामा उत्साह र जोश पैदा भएको छ । दलका सभामा नेता, कार्यकर्ता र समर्थकका अतिरिक्त उल्लेख्य मात्रामा मतदाताको सहभागिता देखिने गरेको छ ।

 


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट