छोरा प्रकाशको निधनको खबर सुन्दा थचक्कै भुइँमा बसेका थिए प्रचण्ड

प्रकाशित मिति: ५ मंसिर २०७४, मंगलवार

काठमाडौं, ५ मंसिर । पूर्वका चुनावी सभालाई सम्बोधन गर्न शनिबार नै माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओली सँगै झापा गएका थिए । झापा पुगेका प्रचण्ड केहीबेर ओली निवासमा बसे, शनिबारका लागि तय भएको कार्यक्रम सकेपछि बिर्तामोड आए र बी एन्ड सी हस्पिटलको ‘गेस्ट हाउस’मा रात बिताए ।

आइतबार बिहानै ‘मर्निङ वाक’मा निस्किँदै गरेका प्रचण्डको कानमा दुःखद खबर पुग्यो । काठमाडौंबाट पत्नी सीताले बिहान ५ः४५ बजे फोन गरेर छोराको दुःखद समाचार सुनाईन् । गेस्ट हाउसबाट ओर्लिंदै गरेका प्रचण्डलाई पत्नी सीताले छोरा प्रकाशको निधनको खबर सुनाउँदा प्रचण्ड थचक्कै भुइँमा बसे । फोन राख्नेबित्तिकै मलाई ‘दुर्गाजी’ भने, त्यहाँभन्दा अरू केही बोल्न सक्नुभएन, मेरो हात समातेर थचक्कै भुइँमा बस्नुभयोु प्रचण्डसँगै रहेका बी एन्ड सी हस्पिटलका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले भने ।

छोराको मृत्युको खबर सुनेका प्रचण्डलाई तत्काल बी एन्ड सी हस्पिटल पुर्‍याइयो । हस्पिटल पुगेको डेढ घण्टापछि काठमाडौंबाट प्रचण्डलाई लिन हेलिकोप्टर पुग्यो । घटनाबारे जानकारी पाउनासाथ बिहान ओली पनि प्रचण्डलाई काठमाडौं बिदा गर्न बिर्तामोड पुगे । ओलीसँग बिदा मागेर हस्पिटलको छतमा ‘ल्यान्ड’ गरिएको हेलिकोप्टर चढेर प्रचण्ड बिहान ८ः४० बजे राजधानी फर्किए ।

छोराको शव नर्भिक अस्पतालमा राखिएको थियो तर प्रचण्ड काठमाडौं ओर्लिएर पहिला लाजिम्पाटस्थित निवास पुगे र पत्नी सीतालाई केहीबेर सम्झाए । घटनाको वस्तुस्थिति बुझेर अस्पताल पुगेका उनी पीडा पोख्दै र सम्हालिँदै छोराको अन्तिम संस्कारसम्म सहभागी भए । एक्लो छोरा गुमाएको पीडा मनभरी बोकेर प्रचण्ड परिवार लाजिम्पाट निवास फर्किए ।

पुत्र शोकमा रहेका प्रचण्ड र दाहाल परिवारको वियोगमा सान्त्वना दिन सोमबार बिहानै लाजिम्पाट निवासमा प्रधानमन्त्री, नेता, र्काकर्ता, सबै आफन्त शुभचिन्तकहरुको भिड थियो । पीडाबाट सम्हालिँदै शुभचिन्तकहरूलाई प्रचण्डले सम्बोधन गरे र विस्तारै परिवारलाई पनि सम्हान कोसिस गर्दै गरेको बताए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट