प्रकाश पत्नी बिना नर्भिक अस्पताल पुगिन्, छोरालाई हेर्न प्रचण्ड पनि अस्पतालमा

प्रकाशकी जेठी श्रीमती श्रृजना त्रिपाठी बेहोस

प्रकाशित मिति: ३ मंसिर २०७४, आईतवार

काठमाडौं, ३ मंसिर । पति प्रकाश दाहालको निधनको खबरसँगै कञ्चनपुरमा रहेकी उनकी पत्नी बिना मगर काठमाडौंको नर्भिक अस्पातल आइपुगेकी छन् । तीन वर्षीय छोरा र बहिनीसहित काठमाडौं आएकी बिना अर्धचेत अवस्था अस्पताल पुगेकी छन् ।

कञ्चनपुर क्षेत्र नम्बर- १ मा बामगठबन्धनबाट प्रतिनिधि सभाका उम्मेदवारसमेत रहेकी बिना चुनावी प्रचार पूसारका लागि कञ्चनपुरमा थिइन् । उनी आज बिहान श्रीएयरलाइन्सको पहिलो उडानमार्फत काठमाडौं आएकी हुन् । यसैबीच,प्रकाशको मृत्युको खबरले उनकी जेठी श्रीमती श्रृजना त्रिपाठी बेहोस बनेकी छन् । उनको नर्भिक अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको छ । दाहालको मृत्युको खबरसँगै नर्भिक अस्पताल पुगेकी त्रिपाठी त्यहीँ बेहोस बनेकी हुन् ।

यसैबीच छोरा प्रकाश दाहालको निधनको खबर पाएसँगै झापाबाट चुनावी कार्यक्रम छोडेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल छोरालाई हेर्न नर्भिक अस्पताल पुगेका छन् । काठमाडौं ओर्लिएलगत्तै लाजिम्पाटस्थित घर पुगेका दाहाल घरको स्थिति बुझेर अस्पताल आएका हुन् । प्रचण्डका एक्ला छोरा प्रकाशको आइतबार बिहान हृदयघातपछि नर्भिक अस्पताल ल्याउँदा ल्याउँदै निधन भएको अस्पतालको स्रोतले जनाएको छ ।

थापाथलीस्थित नर्भिक अस्पतालमा दाहालका शुभचिन्तक, आफन्त र विभिन्न पार्टीका नेता तथा कार्यकर्ता र सर्वसाधारणहरुको ठूलो भिड लागे पछि अस्पतालको सुरक्षा व्यवस्था अत्यन्त कडा पारिएको छ । प्रकाशको मृत्युको खबर सुनेर सबै राजनैतिक दलका नेता तथाकार्यकर्ताहरु अस्पताल पुगेका छन् ।

यसैबीच एमालेका महासचिव ईश्वर पोखरेल, पूर्व प्रधानमन्त्री झलनाथ खनाल, मुख्यसचिव लोकदर्शन रेग्मी, माओवादी नेता राम बहादुर थापा बादल, गिरिराजमणि पोखरेल, कांग्रेस नेता प्रकाशमान सिंह, गिरिराजमणि पोखरेल, जनार्दन शर्मा, पम्फा भुसाललगायतका नेताहरु आफ्ना निर्वाचन अभियानलाई बीचमै रोकेर नर्भिक अस्पतालमा दाहालका शुभचिन्तक, आफन्त र विभिन्न पार्टीका नेता आएका छन् ।

यो पनि पढ्नुहोस् :
दुर्इ वर्ष अघिमात्र छोरी गुमाएका प्रचण्डका एक्ला छोरा प्रकाशको निधनले पूरै परिवार शोकमा


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट