दुर्इ वर्ष अघिमात्र छोरी गुमाएका प्रचण्डका एक्ला छोरा प्रकाशको निधनले पूरै परिवार शोकमा

बाबुराम भट्टराईले फेसबुकमार्फत दिए प्रकाशलाई श्रद्धाञ्जली

प्रकाशित मिति: ३ मंसिर २०७४, आईतवार

काठमाडौं, ३ मंसिर । दुर्इ वर्ष अघिमात्र छोरी गुमाएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको परिवारमा पारिवारिक शोक परेको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मुखैमा प्रचण्डका स्वकिय सचिव समेत रहेका प्रचण्डपुत्र प्रकाश दाहालको आइतबार अल्पायु मै हृदयघातका कारण मृत्यु भएको छ ।

प्रचण्डका एक्ला छोरा प्रकाशलाई लाजिम्पाटस्थित निजी निवासमै हृदयघात भएको थियो । उपचारका लागि काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पताल ल्याइएका प्रकाशको जीवन चिकित्सकहरुले बचाउन सकेनन् र उनलाई मृत घोषणा गरे । २०३८ फागुन १८ गते चितवनको शिवनगरमा जन्मेका प्रकाश दाहाल २०५६ सालदेखि माओवादी पार्टीमा भूमिगत भएका थिए । पछिल्लो समय बुबा प्रचण्डको सहयोगीको रुपमा सँगै हिड्ने प्रकाशका एक छोरा र श्रीमती बिना मगर कञ्चनपुर-१ बाट प्रतिनिधि सभाका लागि उम्मेदवार छिन् । प्रकाशकी यसअघिकी पत्नी सृजना त्रिपाठीको तर्फबाट पनि एक छोरा छन् ।

प्रकाशको निधनको औपचारिक घोषणा गर्न बाँकी नै छ । झापामा रहेका माओवादी अध्यक्ष प्रचण्ड आजै बिराटनगरबाट काठमाडौं आउँदैछन् भने पत्नी बिना मगर कञ्चनपुरबाट र चितवनबाट दाहालकी दिदी रेणु र परिवारका अन्य सदस्यहरु पनि काठमाडौं आउँदैछन् । दाहालको निधनपछि नर्भिक अस्पताल परिसरमा आफन्त र सर्वसाधारणहरुको भीड लागेको छ । प्रकाशको निधनको खबर सुनेपछि उनकी पूर्व पत्नी सिर्जना त्रिपाठी र भाञ्जीहरू नर्भिक अस्पताल पुगेका छन् । अस्पताल परसरमा आफन्तहरुको रुवाबासी चलेको छ ।  राजनैतिक दलका नेताहरु अस्पताल पुगेका छन् । प्रकाशको मृत्युको कारणबारे अस्पतालले केही बेरमा पत्रकार सम्मेलन गरेर औपचारिक जानकारी दिने तयारी गरिरहेको छ ।

यसैबीच, प्रचण्डपुत्र प्रकाश दाहालको निधनले प्रचण्डका पूर्वसहयात्री तथा नयाँ शक्ति नेपाल पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले आफू स्तव्ध भएको बताएका छन् । माओवादीका पूर्व नेतासमेत रहेका नयाँ शक्ति नेपालका अध्यक्ष भट्टराईले ‘पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सीता दाहालका सुपुत्र प्रकाश दाहालको अल्पायुमै आकस्मिक निधनले स्तव्ध र मर्माहत भएको छु। मृतकप्रति हार्दिक श्रद्धाञ्जली र शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु,’ भन्दै सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै प्रकाशप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

यो पनि पढ्नुहोस् :
हृदयघात भएका प्रचण्डपुत्र प्रकाश दाहालको निधन

 


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट