बेल्जियममा वीर गोर्खालीप्रति श्रद्धाञ्जली अर्पण

प्रकाशित मिति: २७ कार्तिक २०७४, सोमबार

काठमाडौं, २७ कात्तिक । प्रथम विश्व युद्धमा शहादत प्राप्त गर्ने वीर गोर्खालीप्रति सम्मानस्वरूप बेल्जियमस्थित इपरमा तमु समाज बेल्जियमले श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरेको छ । समाजका महासचिव सूर्य गुरुङका अनुसार प्रथम विश्व युद्धको हतियार बिसाएको दिन ११ नोभेम्बर (कात्तिक २५ गते) लाई विश्वभरि दिवसका रूपमा मनाउने क्रममा विगत १५ वर्षदेखि तमु समाज बेल्जियमको संयोजनमा हरेक वर्ष श्रद्धाञ्जली कार्यक्रम गरिँदै आइएको हो ।

बेल्जियमका लागि नेपाली राजदूत लोकबहादुर थापाको उपस्थिति रहेको सो कार्यक्रममा गैरआवासीय नेपाली संघ बेल्जियमका अध्यक्ष लोक दाहाललगायत विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो । कार्यक्रममा राजदूत थापा, समाजका अध्यक्ष जीवन तमु, एनआरएनका अध्यक्ष दाहाल र पत्रकार महेश थापाले विदेशमा बस्ने नेपाली बीचको एकतामा जोड दिएका थिए । गत वर्ष नेपाल सरकारको पहलमा बेल्जियमस्थित इपर (बेल्जियम र जर्मनको सिमाना) मा स्मारक स्थापना गरिएको थियो । महासचिव गुरुङका अनुसार पहिलो विश्व युद्धमा बेल्जियममा ५८ जना गोर्खालीले शहादत प्राप्त गरेका थिए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट