एसिया कप क्रिकेटमा नेपालको शानदार जित, भारत १९ रनले पराजित

प्रकाशित मिति: २६ कार्तिक २०७४, आईतवार

काठमाडौं, २६ कात्तिक । एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले भारतलाई १९ रनले पराजित गर्दै जित हात पारेको छ । मलेसियाको किनरारा ओभल मैदानमा आइतबार भएको खेलमा नेपालले भारतलाई १९ रनले पराजित गरेको हो ।

नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर १ सय ८५ रन बनाएको थियो । नेपालले दिएको १ सय ८६ रनको लक्ष्य पछ्याएको भारत ४८.१ ओभरमा १ सय ६६ रनमा समेटिएको थियो । नेपालका लागि दीपेन्द्र सिंहले सर्वाधिक ८८ रन बनाउनुका साथै ४ विकेट लिएका थिए भने जितेन्द्र सिंह ठकुरीले ३६ र भीम सार्कीले १५ रन बनाएका थिए ।

त्यस्तै, पवल सर्राफ र शहाब आलमले दुई/दुई विकेट, कमल सिंह र सन्दीप लामिछानेले १/१ विकेट लिएका थिए । पहिलो खेलमा बंगलादेशसँग पराजित भएको नेपालले दोस्रो खेलमा जित हात पारेको हो । यो जितसँगै नेपालको सेमिफाइनल यात्राको सम्भावना कायमै रहेको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट