स्मृतिमा शैलुङका सम्झनाहरू

प्रकाशित मिति: २६ कार्तिक २०७४, आईतवार

प्राकृतिक सुन्दरताले अनुपम जिल्ला दोलखाको घ्याङसुका ठोकर (प्रसिद्ध शैलुङ्गेश्वर महादेवको छिमेकी गाविस)मा मेरो जन्म भएको हो । मानिस जहाँ जन्मियो त्यही नै उसको मन पनि रम्ने रहेछ । टाढा कतै गए पनि उही गाउँघरकै सम्झना बारम्बार आइरहने रहेछ ।

यतिखेर मेरो कर्मथलो बनेको छ, देश्को राजधानी काठमाडौं । तापनि मलाई मेरै गाउँ र बालापनमा खेलेको शैलुङक्षेत्रको धुमधामसँग याद आइरहन्छ । मेरो मन–मस्तिष्कमा सधैँ शैलुङका डाँडाकाँडा, पाखा–पखेरा, वनजङ्गल, खोलानाला र त्यस वरपरका प्राकृतिक दृश्यहरू झलझली घुमिरहन्छ, जहाँ म हुर्के बढे, हासे–खेले ।

शैलुङ्का बाल्यकालीन सम्झनाहरू मेरो मन–मस्तिष्कबाट अझै हटेका छैनन् । शैलुङ लेकमा गोठ लाँदा डेली, ठेकी, ढुङ्ग्रो अनि खाना पकाउने भाँडाकुँडादेखि लिएर सम्पूर्ण खानेकुराहरू बोकी गाई, बाख्रा, भेडा धपाउँदै गइन्थ्यो । बाबा म सानै छँदा बित्नुभएको हुँदा मैले बाबाबिना नै आफ्नो बाल्यकाल बिताए । म छिमेकीहरूसँग सानै उमेरको भए पनि कहिले डेली बोक्थे भने कहिले गाईवस्तु धपाउँदै, रमाउँदै उकालो बाटो शैलुङ्तर्फ लाग्थे ।

केही समय हिँडेपछि ढुङ्गे बिसाउने चौतारीमा पुगिन्छ र त्यही चौतारीमा गएर डेलीको भारी बिसाइन्थ्यो । थकानको कुनै महसुस नगरी वरपरको हरियाली सुन्दरतामा हराई धेरै खुसी होइन्थ्यो । त्यहाँबाट केही उकालो बाटो लागेपछि केही बेरमा अर्काे रातामाटे चौतारी भेटिन्छ । त्यहाँ पनि विश्राम गर्दै, गीत गाउँदै, सुसेल्दै, खुसी हुँदै थकाई मेटिन्थ्यो ।

त्यसपछि केही समय हिँडेपछि नलीडाँडा आइपुग्छ । त्यस ठाउँमा पुगेपछि आफूले बोकेको डेली बिसाएर अलि पर खोलामा मट्टीतेलको गन्ध आउने पानी थियो, त्यही पानीले हातमुख धोएर त्यहीको पानी केही घुट्को घुट्क्याएर चौतारोमा बस्थ्यौ । त्यहाँबाट शैलुङ्को थोरै डाँडा देखिन्छ । शैलुङ देख्दा मेरो मन साह्रै खुसी हुन्थ्यो । त्यहाँबाट डेली बोकी उकालो लाग्दै जाँदा एउटा मन्दिर छ, जसलाई जुरेढुङ्गा मन्दिर भनिन्छ । हामी मन्दिरमा भगवानको दर्शन गरी रमाउँदै मन्दिर आसपासमा गाईवस्तु चराउँदै मन्दिरको बनावट हेर्दै साथीहरूसँग गफ गर्दे विश्राम गथ्यौ ।

अर्को दैलेश्वर महादेवको मन्दिरलाई दाहिने पारी उकालो चढ्थ्यौ र रजाभैको चौतारीमा बसेर सबै साथीहरू जम्मा भई गाईवस्तु जम्मा गरी फेरि उकालो लागिन्थ्यो । पहाड भएको कारण उकालो ओरालो त हुने नै भयो । त्यसपछि शैलुङको काखमा रहेको गोदावरीस्थान भनेर चिनिने मन्दिर, जुन मन्दिर अति सुन्दर थियो । त्यस मन्दिरमा गाईको चारवटा थुन भएको आकार देखिन्थ्यो । त्यसबाट जहिले पनि दूधजस्तै सेतो पदार्थ झरिरहन्थ्यो, हामी त्यही दूध आफ्नो शिरमा अचाउने गथ्र्यौ । ढुङ्गाबाट बनेको ठूलो ओढारजस्तो मन्दिर । त्यहाँ महादेवको मूर्तीलगायत अन्य थुपै्र धर्मद्वार भन्ने ढुङ्गामा अनौठो प्रकारको प्वाल बनेको थियो । त्यस प्वालमा एकपट्टिबाट अर्काेपट्टि निस्कने गर्दथ्यौ । त्यस प्वालबाट पापी मान्छे बाहिर निस्कन नसक्ने र जो धर्मात्मा छन् तिनीहरू मात्र बाहिर निस्कन सक्छन् भन्ने भनाई रहेको छ । अर्थात् पापद्वार–धर्मद्वार ।

त्यही वरिपरिको मनोरम दृश्यमा रमाउँदै म गीत गुन्गुनाउँथे । शैलुङको काखबाट बगेको कलकलाउँदो कन्चन झरना अति नै सुन्दर देखिन्थ्यो । फेरि हामी दाइँ गर्ने डिल हुँदै शैलुङतर्फ लाग्थ्यौ । शैलुङका थुम्बाहरू हेर्दै गाईवस्तु धपाउँदै पाटीको गहिरो भन्ने ठाउँमा पुग्दथ्यौ । त्यहाँबाट देखिने शैलुङको थुम्कामा रहेको एउटा मन्दिर देखिन्छ । जुन मन्दिरमा जनैपूर्णिमामा जात्रा लाग्दछ । त्यस मन्दिरको फेदी हुँदै बाघढुङ्गा भन्ने स्थानमा पुगिन्छ । जहाँ सत्ययुगमा गाई र बाघ लडाइँ गरेको थियो भन्ने कथन छ । त्यो कथन झल्काउने चित्र ढुङ्गामा देख्न पनि सकिन्छ । त्यस चित्रप्रति साह्रै आकर्षित बनी आफ्नो डेलीको भारी बोकी गीत गाउँदै, गाईवस्तु धपाउँदै पाटीको गहिरो हुँदै खोलाखर्क भन्ने ठाउँमा पुगिन्थ्यो ।

त्यस ठाउँमा पुगी आराम गर्दै आफूले गरेको सामानको भारी बोकी आफ्ना कदम अगाडि बढाउँथ्यौ । अगाडि जाने क्रममा बाटोमा अनौठा देवीदेवताका विभिन्न आकारहरू देखिन्थ्यो र ती चित्रहरू हेर्दा मेरो मनमा विभिन्न कौतुहलहरू जाग्दथ्यो र जान्ने बुझ्नेसँग ती कुराहरूप्रति जिज्ञासा राख्दै पाइला अगाडि चाल्थे । यसरी अगाडि बढ्दै जाँदा म लगायत साथीहरू पानीचौर भन्ने ठाउँमा पुग्दथ्यौ । त्यहाँ पुगेर दाहिनेपट्टि रहेको चौतारोमा डेलीको भारी बिसाएपछि नजिकै पानीको कुवामा ठूला ठूला वनस्पती पातलाई दोबार्दै पानी उघाई पिएर विश्राम गर्दथ्यौ । त्यहाँबाट अघि बढ्ने क्रममा जोरमाने भन्ने स्थानमा पुगेर चौतारीमा भारी बिसाउँथ्यौ । आफूले बोकेको डेलीबाट दही, दूध, निकालेर खाँदै मानेको अति चम्किलो र त्यसको बनावट हेर्दथ्यौ । किन किन मलाई त्यो पलले अहिले पनि रोमान्टिक बनाउँछ ।

यसरी बस्दा मेरो मन खुसीले गद्गद् हुन्थ्यो । म सानै उमेरको भए तापनि ममा जोश र जाँगरको कुनै कमी थिएन । म सामान्य मिलनसार भएकोले मलाई सबैले माया गर्दथे तर पनि म अलि अलि चञ्चल स्वभावको थिएँ । दिमागमा धेरै कुराको प्रश्नात्मक ओइरो लाग्दथ्यो र आफूभन्दा ठूलालाई सोको जानकारी लिने ममा त्यो प्रवृत्ति थियो । मलाई शैलुङको बारेमा धेरै कुराहरू जान्ने रहर थियो ।

जोरमानेबाट यात्रालाई अगाडि बढाउँदै जाँदा बालबिसान भन्ने ठाउँमा पुगिन्छ । चौतारीमा डेली बिसाई गीत गुन्गुनाउने मेरो बानी बसिसकेको थियो । मेरो स्वर सुनेर कोइलीले पनि आफ्नो सुमधुर स्वर कुहु–कुहु आवाजमा सुसेली हाल्थ्यो झै लाग्थ्यो । स्वयम् कोइलीको आवाज सुनेर हामी पनि मन्त्रमुग्ध हुन्थ्यौ, असाध्यै रमाउँथ्यौ । अन्य चराचुरुङ्गीहरू पनि चिरबिर चिरबिरको सङ्गीत दिएर वल्लो डाली पल्लो डाली फुर्रफुर्र रमाएर सुन्दर प्वाँख फिजाई उड्दथे । यस्तो दृश्यले सबैको ध्यान अवश्य नै तान्ने गर्छ ।

अघि बढ्ने क्रममा पौवा भन्ने ठाउँको गोरेटो बाटो हुँदै क्रमशः कपरकाजी, धनेभीर भन्ने ठाउँ, यही ठाउँमा वैशाखदेखि जेठको अन्तिमसम्म गोठ राखिन्थ्यो । यही गोठ राख्ने सिलसिलामा क्रमश गाई, बाख्रा चराउँदै, सुसेलो हाल्दै गीत गाउनु मेरो दैनिकी जस्तो भई सकेको थियो । आज पनि म गीत गाउँछु, खासगरी लोक भाकाका गीतहरू । केही गीतहरू रेकर्ड भई विभिन्न मिडियाबाट बज्ने क्रममा छन् । यति हुनुको मूल कारण नै त्यही बाल्यकालमा सुसेलेर गीत गाउँदै लेकखर्क वा भनौ मेरै शैलुङको वातावरणको प्रभाव ठान्दछु । त्यस ठाउँमा गोठ राख्दा गाईवस्तु चराउँदै दिन बिताउथ्यौ तर खानेकुराहरू प्रशस्त थिएन थोरै च्याँख्ला पकाएर खाइन्थ्यो, थोरै खाना खाँदा पनि भोकको महसुस हुँदैनथ्यो, किनभने दूध, दही, घिउ जस्ता पोषणयुक्त खानेकुराहरू प्रशस्त मात्रामा हुन्थ्यो र त्यही खाइन्थ्यो ।

हामी केही समपछि पहिलाको बाटोभन्दा केही फरक बाटोबाट घर फर्कने क्रममा कपरकाजी भन्ने ठाउँमा आएर जेठ महिनाको सुरुवातदेखि अन्तिमसम्म गोठ बनाएर बस्दथ्यौ । चिसो वातावरणमा त्यहाँ बस्दा गाई, बाख्रा, भेडा चराउन जान्थ्यौ । जङ्गलमा यसरी बस्दा दिन बितेको पत्तो हुँदैनथ्यो । समयसँगै घाम पनि डुब्दै जान्थ्यो । भेडाबाख्रा आफ्नो गोठतर्फ लैजान्थ्यौ । त्यसपछि झाँक्रीथलो भन्ने चौरमा फेरि अर्काे गोठ बनाएर असार महिनाको सुरुवातदेखि महिनाको अन्तिमसम्म बसिन्थ्यो । गाईवस्तु चराउँदै जाँदा गोदावरीथान, ठोडोभित्तालगायत विभिन्न ठाउँमा पुग्थ्यौ । फर्कने क्रममा सोही ठाउँमा वनझाँक्री हिँडेको दृश्य देख्थे मैले । केही अनौठो प्रकारको आवाज सुन्थे । जो हेर्दा बूढो, कपाल र दाह्री सेतो भएको होचो थियो । जसले एउटा हातमा ढ्याङ्ग्रो, अर्काे हातमा गजो बोकी माला लगाएर हिँडेको देखिन्थ्यो ।

त्यस ठाउँलाई अझ पछडि छोडेर आउने ‘पाटीको गहिरो’ भन्ने ठाउँमा आएर चौतारीमा डेली बिसाई विश्राम गरी दही, मोही, निकाली खाइन्थ्यो । गाईवस्तु चराउँदै साथीहरू जम्मा भई गफ गर्दै शैलुङका हरिायाली हेर्दै आफ्नो गन्तव्य तर्फ लाग्ने क्रममा ओरालो बाटातर्फ जाँदा दैलेश्वर महादेव मन्दिर र जुरेढुङगाको मन्दिरलाई पछाडि छोडेर भाँगाघारी भन्ने ठाउँमा गोठ बनाइन्थ्यो र बसिन्थ्यो । त्यहाँ चैँ गाई, बाख्रा, भेडा चराउन शैलुङको विभिन्न ठाउँमा पुगिन्थ्यो ।

परापूर्वमा एक दिन यसरी बस्दा गाईले आफ्ना बाछा र मान्छेलाई दूध दिएनछ । केही दिनसम्म नदिएपछि गाईको पछि लागेर हेर्ने क्रममा गाईले शीलामा आफ्नो दूध चढाउने गरेको कुरा थाहा भयो । गाई त्यसपछि आफ्नो गोठतर्फ जाने रहेछ । सोही ठाउँमा गएर पुर्खाले ‘लौ परमेश्वर म बिहान चोखो गरी तिमीलाई दूध चढाउन ल्याउनेछु’ भनेर भन्दा भोलिदेखि नै गाईले दूध दिन थालेछ । जुन कुरा त्यो भन्दा अगाडि थाहा थिएन । त्यसपछि त्यस ठाउँलाई ‘जुरेढुङ्गा महादेव’ भनेर नाम राखिएको रे । भाँगाघारी भन्ने ठाउँमा गोठ राख्ने क्रममा गाई बाख्रा, भेडा चराउन शैलुङका धेरै ठाउँमा पुगिन्थ्यो । यसरी दिन बित्दै जाँदा भदौको अन्तिमसम्म त्यहीँ बित्दथ्यो र दशैँको चहलपहल नजिक आएकोले गोठ घरतर्फ नै लगिन्थ्यो ।

शैलुङ आसपासका रमाइला ठाउँहरू– पाटीको गहिरो, बाघढुङ्गा, दैलेश्वर महादेवस्थान, खोलाखर्क । कपरकाजी, धनेभीर, झाँक्रीथलो, टोड्केपानी, पौवा, बालबिसान, जोरमाने, गोवा गोदावरीस्थान, ठाडो भित्ता नलिडाँडा, कालापानी, चौरीखर्क, दाइँ गर्ने डिल आदिको सम्झना अहिले पनि उत्तिकै छ । त्यसैले त बेलाबेला सो ठाउँ अहिले पनि पुग्ने गर्दछु ।
यस वर्षको दशैँमा म गाउँ गएँ । आफूले बिताएका बाल्यकालीन दिनहरूको सम्झनाले बेस्सरी रुझेर गाउँको काखमा लुटपुटिएँ । साथीभाइसँग हाँसे, रमाएँ, गीत गाएँ । स्वर्ग समान लाग्ने सुन्दर स्थानहरूको भ्रमण र अवलोकन गरी आन्तरिक एवम् बाह्य पर्यटन प्रवद्र्धन गर्ने दिनको पखाईमा शैलुङ्क्षेत्र पर्खिरहेको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट