साधारण सदस्यसमेत नरहने गरी निकालिए वाम गठबन्धनविरुद्ध उम्मेदवारी दिनेहरु

प्रकाशित मिति: २४ कार्तिक २०७४, शुक्रबार

काठमाडौं, २४ कात्तिक । पार्टी नीति विपरीत प्रतिनिधिसभा र प्रदेसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिएका र समर्थक बसेका नेता तथा कार्यकर्तालाई माओवादी केन्द्रले पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारवाही गरेको छ ।

वाम गठबन्धनको आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दर्ता गराएका पोलिटब्युरो सदस्यत्रय उमाकान्त शर्मा, छक्कबहादुर लामा र भीमप्रकाश शर्मालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारवाही गरेको हो । माओवादी केन्द्रको केन्द्रीय कार्यालयले प्रदेश नं ६ लाई बिहिबार परिपत्र गर्दै तीनै जनाले वाम गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध वागी उम्मेदवारी दर्ता गराएको र फिर्ता लिन आग्रह गर्दासमेत अटेर गरेको हुँदा कारवाही गरेको माओवादी केन्द्रले जनाएको छ ।

उनीहरुसँगै महाधिवेशन आयोजक समिति सदस्य जितबहादुर पुन, सल्यानका स्थानीय नेता प्रमोद श्रेष्ठ, शालिकराम भट्टराई, सेतीराम ओली, हरिलाल डिसी, टंक ढकाल र कीर्तिबहादुर रानालाई पनि पार्टीको साधारण सदस्यसमेत नरहने गरी माओवादी केन्द्रले कारवाही गरेको छ । वाम गठबन्धनले टेकबहादुर बस्नेतलाई सल्यानमा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनाएको छ । यस्तै प्रदेशसभा सदस्यका लागि एमालेका नेता प्रकाश ज्वाला उम्मेदवार बनेका छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट