जनआन्दोलन स्वर्ण पदकबाट पूर्वराष्ट्रपति यादव विभूषित

प्रकाशित मिति: २४ कार्तिक २०७४, शुक्रबार

काठमाडौं, २४ कात्तिक । पूर्व राष्ट्रपति डा.रामवरण यादव ‘जनआन्दोलन स्वर्ण पदक, २०७४’ बाट विभूषित भएका छन् । आज आयोजित एक समारोहबीच सर्वमान्य नेता स्व.गणेशमान सिंहको १०३औँ जन्मजयन्तीको अवसरमा गणेशमान सिंह तथा जनआन्दोलन शहीद स्मृति शान्ति प्रतिष्ठानले डा.यादवलाई अभिनन्दनसहित राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा उक्त पदकबाट विभूषित गरिएको हो ।
शान्ति प्रक्रियाका विभिन्न चरणमा पुर्याएका योगदान र राष्ट्रपतिको हैसियतले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी गर्न निर्वाह गरेको भूमिकाका लागि डा.यादवलाई अभिनन्दन गरिएको हो । रत्नपार्कस्थित शान्तिबाटिकामा रहेको गणेशमान सिंहको शालिकमा माल्यार्पण गरेपछि राष्ट्रपति भण्डारीले समारोहमा हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा उत्साह देखिए झैँ आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई पनि एउटा ऐतिहासिक उत्सवकै रूपमा लिएर सहभागी हुन आमजनतासँग अपिल गरिन् । ‘युवा अवस्थादेखि नै एक निर्भिक र निडर व्यक्तित्वको पहिचान बनाउनुभएका स्व.गणेशमान सिंह नेपाली जनताको स्मृतिमा लौहपुरुष एवं त्यागका प्रतिमूर्तिका रूपमा परिचित हुनुहुन्छ’, भन्दै राष्ट्रपति भण्डारीले नेपालमा राजनीतिक परिवर्तनका निमित्त लोकतन्त्रवादीहरूबीच सहकार्य गर्न नेता गणेशमानले खेल्नुभएको भूमिका महत्वपूर्ण रहेको स्मरण गरिन् ।
त्यस्तै, समारोहमा पूर्व राष्ट्रपति डा.यादवले सबैले स्वीकार गरेको नेपालको संघीय लोकतान्त्रिक संविधानको पूर्ण कार्यान्वयनसँगै मुलुकलाई समृद्धिको बाटोमा अगाडि बढाउनुपर्नेमा जोड दिए भने रक्षामन्त्री तथा गणेशमान सिंह तथा जनआन्दोलन शहीद स्मृति शान्ति प्रतिष्ठानका अध्यक्ष भीमसेनदान प्रधानले लोकतन्त्रलाई संस्थागत गर्नु नै शहीदको सच्चा सम्मान हो भने ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट