राष्ट्रिय करातेको पहिलो दिन आर्मी र पुलिसलाई ४-४ स्वर्ण

प्रकाशित मिति: २४ कार्तिक २०७४, शुक्रबार

राजेश थापामगर
काठमाडौं, २४ कात्तिक । राखेप च्याम्पियनसिपअन्तर्गत ५०औँ राष्ट्रिय कराते प्रतियोगिताको पहिलो दिन विभागीय टिम त्रिभुवन आर्मी क्लब र नेपाल प्रहरीले समान ४–४ स्वर्ण जितेका छन् ।

सम्झना ल्याबोरेटरी क्लिनिकको मुख्य प्रायोजनमा नेपाल कराते महासंघद्वारा आयोजित प्रतियोगितामा आर्मीका लागि पर्शुराम बास्तोलाले पुरुष एकल कातामा, आकाश पलले पुरुष ४५ केजीमा र मणिकुमार सुनुवारले पुरुष ५० केजीमा स्वर्ण जिते । पर्शुराम पाँचौंदेखि सातौं राष्ट्रिय खेलकुदका स्वर्ण विजेता हुन् । त्यस्तै आर्मीले पुरुष टिम कातामा पनि स्वर्ण जित्न सफल रह्यो ।

त्यस्तै अर्को विभागिय टिम नेपाल प्रहरीले पनि पहिलो दिन चार स्वर्ण जित्न सफल रह्यो । नेपाल प्रहरीका लागि निर्मला तामाङले महिला एकल कातामा, मल्लिका थापाले ५५ केजीमा स्वर्ण जिते । त्यस्तै नेपाल प्रहरीको महिला टिमले महिला टिम कातामा पनि स्वर्ण जिते । प्रतियोगिताअन्तर्गत पहिलो दिनमा अर्को विभागिय टिमले एपिएफले भने एक मात्र स्वर्ण जित्यो । एपिएफका लागि ५० केजीमा अनु अधिकारीले एक मात्र स्वर्ण जितिन् ।

राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा सञ्चालन भइरहेको प्रतियोगिताको युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीले उद्घाटन गरेका थिए । प्रतियोगितामा पँँच विकास क्षेत्र र तीन विभागीय टोलीका १ सय ८४ खेलाडीले विभिन्न १९ स्पर्धामा प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगिताको अन्तिम दिन शुक्रबार १० स्पर्धामा प्रतिस्पर्धा हुनेछ । यसै प्रतियोगिताबाट छानिएका उत्कृष्ट २३ खेलाडीलाई राष्ट्रिय टिममा समावेश गराइ विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराईनेछ ।

 


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट