युरोपेली संघले निर्वाचनमा पर्यवेक्षण परिचालित गर्यो

प्रकाशित मिति: २१ कार्तिक २०७४, मंगलवार

काठमाडौं, २१ कात्तिक । आजदेखि युरोपेली संघको निर्वाचन पर्यवेक्षण टोली आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि परिचालित भएको छ । पत्रकार सम्मेलनमार्फत युरोपेली संसद्मा क्रोएसियाको प्रतिनिधित्व गर्ने सांसद तथा प्रमुख निर्वाचन पर्यवेक्षक जेल्याना जेभ्कोले आज सो टोली परिचालनको घोषणा गरेकी हुन् ।

कार्यक्रममा प्रमुख पर्यवेक्षक जोभ्कोले आगामी मंसिर १० र २१ गते हुने निर्वाचन नेपालको लोकतान्त्रिक विकासको एउटा महत्वपूर्ण चरणका रुपमा रहेको बताउँदै आफ्नो उपस्थितिले समावेशी र पारदर्शी निर्वाचन प्रक्रियामा योगदान गर्ने अपेक्षा गरिन् । पर्यवेक्षक सबै प्रदेशमा पुग्ने र निर्वाचन अधिकारी, उम्मेदवार, नागरिक समाजका प्रतिनिधिसँग भेट गरी काठमाडौंस्थित मुख्य टोलीलाई पर्यवेक्षण प्रतिवेदन पेश गर्ने जोभ्कोले जनाइन् । उनले नेपालको निर्वाचनमा खटिने पर्यवेक्षक अन्तर्राष्ट्रिय निर्वाचन पर्यवेक्षकको आचारसंहितामा बाँधिने भएकाले पर्यवेक्षण तटस्थ र निष्पक्ष हुने विश्वास दिलाइन् ।

टोलीमा युरोपेली संसद् सदस्य एवं काठमाडौंस्थित युरोपेली दूतावासका कूटनीतिक कर्मचारीको समेत संलग्नता रहने छ । निर्वाचनको दोस्रो तथा अन्तिम चरणको समाप्तिको लगत्तै मिसनले प्रारम्भिक निष्कर्षसहितको वक्तव्य जारी गर्ने र निर्वाचन प्रक्रिया समाप्त नभएसम्म मिसन नेपालमा रहनेछ । दुवै चरणका निर्वाचनमा सयभन्दा बढी पर्यवेक्षक रहने बताइएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट