बिजुक्छेको पकड क्षेत्र भक्तपुरमा त्रिपक्षीय चुनावी भिडन्त

प्रकाशित मिति: २० कार्तिक २०७४, सोमबार

भक्तपुर, २० कात्तिक । दोस्रो चरणअन्तर्गत मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भक्तपुरमा ११ वटा दल चुनावी मैदानमा उत्रिए पनि मुख्यतया कांग्रेस, वाम गठबन्धन, नेपाल मजदुर किसान पार्टीका उम्मेदवारबीच दुईवटा प्रतिनिधिसभा सदस्य र चारवटा प्रदेशसभा सदस्यका लागि कडा प्रतिस्पर्धा हुने भएको छ ।

नेमकिपाका उम्मेदवारलाई पराजित गर्न कडा मेहनत गर्नुपर्ने क्षेत्र नं.१ विगतमा नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेले चुनाव लड्दै आएकामा यस पटक प्रेम सुवाल उम्मेदवार बनेका छन् । प्रतिनिधिसभातर्फ नेपाल मजदुर किसान पार्टीको राम्रो पकड रहेको सो क्षेत्रमा कांग्रेसले बाबुराजा जोशी र वाम गठबन्धनले मिलन सुवाललाई उम्मेदवार बनाएको छ । प्रदेशसभातर्फ क्षेत्र नं.१ ‘क’ मा नेमकिपालाई आफ्नो साख जोगाउन त्यति सहज छैन ।

यस क्षेत्रमा नेमकिपाका नीरज लवजू, वाम गठबन्धनका हरिशरण लामिछाने र कांग्रेसका जीवन खत्रीबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । क्षेत्र नं.२ ‘ख’ भक्तपुर नगरक्षेत्रमा नेमकिपाका सुरेन्द्रराज गोसाईं, कांग्रेसका अनिल भुजु र वाम गठबन्धनबाट रोमन शिलाकार उम्मेदवार बनेका छन् ।

क्षेत्र नं.२ मा प्रतिनिधिसभातर्फ कांग्रेसका नेता एवं पूर्वसभामुख दमननाथ ढुंगानासँग एमालेका नेता एवं पूर्वमन्त्री महेश बस्नेत र नेमकिपाकी अनुराधा थापामगर भिड्ने भएका छन् । क्षेत्र नं.२ ‘क’ सूर्यविनायकमा एमालेका शशीजंग थापा, कांगेसका अंगद खड्का र नेमकिपाका सरोजराज गोसाईं चुनावी मैदानमा छन् ।

यहाँ तीनै जनाबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ । क्षेत्र नं.२ ‘ख’ मा कांगेसका पूर्व जिल्ला सभापति गणेशमान चक्रधर र एमालेका राजेन्द्रमान श्रेष्ठबीच प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । यसक्षेत्रमा नेमकिपाले प्रेमजंग थापालाई उम्मेदवार बनाएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट