चुनावी ऐजेण्डामा पञ्चेश्वर आयोजना

प्रकाशित मिति: २० कार्तिक २०७४, सोमबार

बैतडी, २० कात्तिक । जिल्लाका राजनीतिक दलहरूले चुनावी ऐजेण्डामा पञ्चेश्वर बहुउद्देश्यीय आयोजनालाई अगाडि सारेका छन् । चुनाव जितेमा बहुप्रतिष्ठित उक्त आयोजनाको निर्माण अगाडि बढाउने सम्बद्ध दलका उम्मेदवारले बताउँदै आएका हुन् ।

चुनाव नजिक आएका बेला मतदातालाई आफूतिर तान्न सबै दलका उम्मेदवारले आफ्ना एजेण्डबारे गाउँगाउँमा गएर नागरिकलाई सुनाइरहेका छन् । पञ्चेश्वर बहुउद्देश्यीय आयोजनालाई चुनावी नारा मात्रै नभएर कार्यान्वयनमा ल्याउन स्थानीय बासिन्दाले समेत आग्रह गरेका छन् । यस्तै, विवेकशील साझा पार्टीले पनि पञ्चेश्वर बहुउद्देश्यीय आयोजनालाई चुनावी एजेण्डा बनाएको छ । प्रतिनिधिसभाको उम्मेदवार बनेका नारायणदत्त अवस्थीले पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको काम अगाडि बढ्यो भने हजारौं नागरिकले रोजगारी पाउने बताए । उक्त आयोजनाको काम अगाडि बढ्यो भने आर्थिक समृद्घि हुने देखिएकाले बैतडीका राजनीतिक दलले अहिले यसलाई चुनावी एजेण्डा बनाएका हुन् ।

वामगठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार दामोदर भण्डारीले उक्त आयोजनाको काम आफू अर्थराज्यमन्त्री भएको बेला अघि बढेको बताएका छन् । सो आयोजनालाई अघि बढाउनका लागि स्थिर सरकार आवश्यक रहेको र यसका लागि वामगठबन्धनलाई जिताउनुपर्ने उनको भनाइ छ । पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको डिपिआर निर्माण अन्तिम चरणमा पुगेकाले यसलाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा अगाडि बढाउन आफूले पहल गर्ने नेता भण्डारीले बताए । उनले पञ्चेश्वर परियोजना बाँधस्थललाई जोड्ने पाटन–पञ्चेश्वर सडक निर्माण पनि आफ्नै पालामा बहुवर्षीय ठेक्का प्रणालीमा राखेर काम दु्रत गतिमा अघि बढाइएको उल्लेख गरे ।

यता लोकतान्त्रिक गठबन्धनका प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार एवं वाणिज्य राज्यमन्त्री नरबहादुर चन्दले पञ्चेश्वर बहुउद्देश्यीय आयोजना नेपाली काँग्रेसले अघि बढाएको र यसबारे आफूले पटक–पटक सदनमा समेत बोलेको बताए । उक्त आयोजना दुई देशबीचको सहमतिका आधारमा अघि बढ्ने भएकाले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका बेला यसले प्राथमिकता पाएको उनको दाबी छ । पञ्चेश्वर परियोजनाको बाँधस्थलसम्म पुग्ने पाटन पञ्चेश्वर सडकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकका पालामा ६२ करोड रुपैयाँ बजेट विनियोजन भएर काम भइरहेको उनको भनाई छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट