आयात गरिने सर्पदंशको औषधि अब नेपालमै उत्पादन हुने

प्रकाशित मिति: २० कार्तिक २०७४, सोमबार

काठमाडौं, २० कात्तिक । सर्पदंशको औषधि(सर्पको डसाइबाट बच्ने) ‘एन्टी स्नेक भेनम’ नेपालमै पहिलोपटक उत्पादन गरिने भएको छ । आज आयोजित पत्रकार सम्मेलनमा जनाएनुसार निजी क्षेत्रको ‘एन्टिस्नेक भेनम सेरुम रिसर्च एण्ड मेनुफ्याक्चरिङ’ प्रालिले सुनसरीको महेन्द्रनगरमा औषधि उत्पादन गर्ने भएको हो ।

राज्यको सर्पदंश औषधि उत्पादनमा कानून अभावका कारण आफ्नो कम्पनीले झण्डै चारवर्ष लामो संघर्षपश्चात् सरकारीतर्फबाट कम्पनी स्थापना स्वीकृति पाएकाले अब पूर्वाधार निर्माणका काम शुरु गरिने कम्पनीका अध्यक्ष लक्ष्मीप्रसाद फुयाँलले बताए । अहिले भारतबाट आयात हुने औषधिले नेपालमा सर्पको डसाइबाट पीडित भएका बिरामीको उपचार भइरहेको छ । उक्त औषधि नेपालमै बनेमा जनताले सहज तरिकाले उपचार पाउनेछन् । कम्पनीका प्राविधिक सल्लाहकार डा.जगन्नाथ राईले विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार सर्पदंश औषधि उत्पादन गरी विदेश निर्यात गरिने बताए । उनका अनुसार औषधि उत्पादनका लागि आवश्यक कच्चा पदार्थ र प्राविधिक जनशक्ति नेपालमै पर्याप्त रहेको र केही प्राविधिकलाई तालीमका लागि विदेश पठाइएको जानकारी दिए ।

कम्पनीका अध्यक्ष फुयाँलका अनुसार करिब ८८ करोड ६३ लाख रुपैयाँको लागतमा निर्माण हुने औषधि उद्योगबाट अबको तीन वर्षभित्र सर्पदंशको औषधि उत्पादन गरी बजारमा ल्याइने छ । वार्षिक १५ लाख भायल सर्पदंश औषधि उत्पादन गर्ने लक्ष्यका साथ दक्ष प्राविधिक जनशक्ति व्यवस्थापन र पूर्वाधारको कामसँगै अघि बढाइनेछ । कम्पनी स्थापनाबाट चारसय व्यक्तिले रोजगारी पाउनुका साथै औषधिबाट वार्षिक एक अर्ब रुपैयाँ बराबरको विदेशबाट नेपाली मुद्रा भित्र्याउने लक्ष्य लिइएको छ । सर्पदंश औषधिमा देशलाई आत्मनिर्भर बनाई विदेश निर्यात गर्ने कम्पनीको लक्ष्य छ ।

हाल सरकारले वार्षिक ३० हजार भायल (करिब चार करोड रुपैयाँ बराबरको) सर्पदंश औषधि खरिद गरी विभिन्न उपचार केन्द्रलाई निःशुल्क औषधि दिई सर्पदंशका बिरामीले उपचार पाउँदै आएको बताइएको छ । कम्पनीले उत्पादन गर्ने १५ लाख भायल औषधिको बजार मूल्य १३ अर्ब ५३ करोड रुपैयाँ पर्न जान्छ । यस्तै, ठूलो मात्रामा कम्पनीले उत्पादन गर्ने औषधि नेपाल सरकारलाई बेच्ने र बाँकी रहेको औषधि विदेशी बजारमा निर्यात गर्ने कम्पनीले जनाएको छ ।

सर्पदंशको औषधि सर्पको बिष निकालेर प्रशोधन गरी घोडामा प्रयोग गरिन्छ, त्यसपछि प्राविधिक प्रक्रिया पुर्याइ औषधि तयार गरिन्छ । विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार हरेक वर्ष विश्वभर प्रतिवर्ष एक लाखमा एकसय ६२ जनाको मृत्यु सर्पको डसाइबाट हुने गरेको छ । नेपालमा पनि एक वर्षमा करिब एक हजार व्यक्तिको मृत्यु हुने गरेको विभिन्न सर्वेक्षणले देखाएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट