दोस्रो खेलमा पनि नेपाल पराजित

प्रकाशित मिति: १९ कार्तिक २०७४, आईतवार

राजेश थापामगर
काठमाडौं, १९ कात्तिक । एसिसि यू-१९ युथ एसिया कपको तयारीका लागि बंगलादेशको भ्रमणमा रहेको नेपाली टिम दोस्रो अभ्यास खेलमा पनि पराजित भएको छ । शनिबार बंगलादेश क्रियाशिख प्रोथिस्थान मैदानमा भएको दोस्रो अभ्यास खेलमा नेपाल बंगलादेश यू-१९ टिमसँग १ सय २३ रनको फराकिलो अन्तरले पराजित भएको हो ।

टस जितेर फिल्डिङ रोजेको नेपालले बंगलादेशलाई निर्धारित ५० ओभरमा ८ विकेट लिँदै २ सय २७ रनको मध्यम स्कोरमा रोक्न सफल भएको थियो । नेपालका लागि दिपेन्द्रसिंह ऐरी र सन्दिप लामिछानेले समान २-२ विकेट लिएका थिए भने बंगलादेशका ४ जना ब्याट्सम्यान रन आउट भएका थिए । बंगलादेशका लागि सेभ हसनले सर्वाधिक ६२ र अफिफ होसेनले ५९ रनको योगदान दिएका थिए ।

२ सय २८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको नेपाल ३६ दशमलव ५ ओभरमा अलआउट हुँदै मात्र १ सय ४ रनमा समेटिएको थियो । नेपालका रसिद खानले २४, पवन सराफले १६, सन्दिप लामिछानेले १३ र प्रनित थापामगरले १२ रन बाहेक अन्य ब्याट्सम्यानले दोहोरो रनको स्कोर बनाउन सकेनन् । नेपालको पारीलाई सस्तैमा समेट्न बंगलादेशका हसन महमुदले ३ तथा रोनी हसन, रोबियुल हक र अफिफ होसेनले समान २-२ विकेट लिएका थिए ।

यूथ एसिया कपको तयारी स्वरुप नेपाली टिम बंगलादेशको यू(१९ टिमसँग तीनवटा अभ्यास खेल खेल्ने क्रममा पहिलो खेलमा ३ विकेटले पराजित भएको थियो । आज नेपालले बंगलादेशसँग तेस्रो तथा अन्तिम अभ्यास खेल खेल्दैछ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट