उदयपुरको वाम गठबन्धन संकटमा

प्रकाशित मिति: १७ कार्तिक २०७४, शुक्रबार

उदयपुर, १७ कात्तिक । उदयपुरमा वाम गठबन्धनका उम्मेदवारहरुविरुद्ध गठबन्धनकै नेताहरुले बागी हालेपछि उदयपुरको वाम गठबन्धन संकटमा परेको छ । आगामी मंसिर २१ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि उदयपुरमा वाम गठबन्धनविरुद्ध गठबन्धनकै सातजनाभन्दा बढी नेताहरुले बागी उम्मेदवारी हालेका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय, उदयपुरका अनुसार क्षेत्र नं २ मा माओवादी केन्द्रका तर्फबाट गठबन्धनबाट आधिकारिक टिकट पाएका प्रतिनिधि सभाका उम्मेदवार सुरेश किराँती विरुद्ध एमालेका वैकल्पिक केन्द्रीय सदस्य जगन्नाथ खतिवडा र माओवादी केन्द्र, उदयपुरका अध्यक्ष विनोद कटुवालले बागी उम्मेदवारी दर्ता गरेका छन् ।

यस्तै उदयपुरकै प्रतिनिधि सभाका लागि क्षेत्र नं २ को ताप्ली सुनकोशी उदयपुरगढी प्रदेश क्षेत्रका लागि वाम गठबन्धनबाट आधिकारिक उम्मेदवार टिकट पाएका भेषकुमारी राउतविरुद्ध माओवादी केन्द्रकै जिल्ला नेता नारायण बुर्जा र एमालेका होमप्रसाद दाहालले बागी उम्मेदवारी हालेको छन् ।

वाम गठबन्धनका प्रवक्ता ईश्वरमणि राउतका अनुसार प्रदेशका लागि त्रियुगा नगर क्षेत्रबाट वाम गठबन्धनबाट आधिकारिक टिकट पाएका उम्मेदवार रामबहादुर थापाविरुद्ध माओवादी केन्द्रका जिल्ला नेता मीनबहादुर ठकुरी र जीवन कार्कीले बागी उम्मेदवारी दिएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार उदयपुरमा बिहीबार बेलुकी सम्ममा प्रतिनिधि सभाका लागि २५ जनाको उम्मेदवार दर्ता भएको छ ।

यस्तै प्रदेश सभाका लागि ३९ जनाले नाम दर्ता गराएका छन् । प्रदेश र केन्द्र गरेर ६४ जना उम्मेदवारको नाम दर्ता भएकोमा १६ राजनीतिक दलले सहभागिता जनाएका छन् । उदयपुरमा वाम गठबन्धनको तालमेल भएअनुसार जिल्लामा प्रदेशको चार र केन्द्रको दुई सिटमा आधा–आधा बराबरी भाग लगाएर उम्मेदवार निर्धारण गरिएको थियो ।

उदयपुरमा बागी उम्मेदवारले उम्मेदवारी फिर्ता नगरे गठबन्धनको औचित्य समाप्त हुने र गठबन्धनका आधिकारिक उम्मेदवारहरु पराजय हुने जिल्लाका नेताहरुले बताएका छन्। यता बागी उम्मेदवारले आफूहरुले पार्टीबाट जस्तो सुकै सजाय भोग्न परे पनि नाम मनोनयन दर्ता फिर्ता नगर्ने बताएका छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट