भोली हुने मनोनयन दर्ताका लागि तीनबुँदे सम्झौता

प्रकाशित मिति: १५ कार्तिक २०७४, बुधबार

झापा, १५ कात्तिक । झापामा मनोनयन दर्तालाई सहज, सरल बनाउन राजनीतिक दल र सरोकारवाला निकायसँग छलफल गरी लिखित सम्झौता गरिएको छ । निर्वाचन कार्यालय झापाका निर्वाचन अधिकृत गोपाल आचार्यका अनुसार भोली हुने मनोनयन दर्तालाई सहज बनाउन निर्वाचन आचारसंहिता पूर्णरुपमा पालना गर्ने, मनोनयन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न आ–आफ्नो तर्फबाट प्रयास गर्नेलगायतका तीनबुँदे लिखित सम्झौता गरिएकोे छ ।

भोलि बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म हुने मनोनयन दर्ताका लागि समय र कोणसभा गर्ने स्थानसमेत तोकिसकिएको आचार्यले बताए । उनका अनुसार राप्रपालगायतको गठबन्धनले बिहान १० देखि ११ बजेसम्म र कोणसभा गर्ने स्थान मेची रंगशाला, राजपासहितको गठबन्धनले बिहान ११ देखि १२ः३० बजेसम्म र कोणसभा गर्ने स्थान खाद्य गोदामको मैदानमा, नेपाली काँग्रेससहितको गठबन्धनले दिउँसो साढे १२ बजेदखि अपरान्ह २ बजेसम्म र कोणसभा एसपी मोड अगाडि, एमाले–माओवादीसहितको गठबन्धनले २ देखि ४ बजेसम्म र कोणसभाका लागि वीरेन्द्र उच्च मावि पछाडिको खुल्ला मैदानमा, साना दल तथा स्वतन्त्रले समय अनुकूल मिलाएर गर्ने र कोणसभा भने नेपाल विद्युत् प्राधिकरण अगाडिको तोकिएको छ ।

मनोनयनपत्र दर्ताका लागि झापाको भद्रपुरमा मुख्य निर्वाचन कार्यालयसहित पाँचवटा निर्वाचन कार्यालय स्थापना भइसकेको छ । जिल्ला समन्वय समितिको कार्यालयमा झापा क्षेत्र १ र ३ को कार्यालय स्थापना गरिएको छ । झापा क्षेत्र नं. २ को जिल्ला शिक्षा कार्यालय, क्षेत्र नं. ४ को जिल्ला स्काउट कार्यालय र क्षेत्र नं. ५ को जिल्ला हुलाक कार्यालयमा निर्वाचन कार्यालय स्थापना गरिएको छ । आयोगले झापा क्षेत्र नं. ३ मा मुख्य निर्वाचन अधिकृतमा जिल्ला न्यायाधीश खिलानाथ रेग्मी, क्षेत्र नं. १ मा निर्वाचन अधिकृततर्फ सर्वोच्च अदालत काठमाडौँका इजलास अधिकृत शिवप्रसाद पराजुली, क्षेत्र नं. २ मा सर्वोच्चका उपरजिष्ट्रार इन्दिरा शर्मा, क्षेत्र नं. ४ मा सर्वोच्चका इजलास अधिकृत प्रेम खड्का र क्षेत्र नं. ५ मा इजलास अधिकृत शकुन्तला कार्की खटाइको छ । त्यस्तै, जिल्ला प्रहरी कार्यालय झापाले मनोनयन दर्तालाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सुरक्षा व्यवस्था मजबुद बनाएको जनाएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट