दरबारमार्गका ब्राण्डेड पसलका संचालक पक्राउ

प्रकाशित मिति: १५ कार्तिक २०७४, बुधबार

काठमाडौं, १५ कात्तिक । मंगलबार महानगरीय प्रहरी परिसरले ठगीको आरोपमा दरबारमार्गका आठ ब्राण्डेड पसलका संचालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा वाच एण्ड सीका राजेश्वर श्रेष्ठ, तिरुपति प्रालिका नन्दन बिहानी, लेवल स्टोलका दितेन्द्र महर्जन र सुवास महर्जनका साथै एडभेञ्चर आउटडोरका रोशन ओडारी, लाइफ स्टाइल प्रालिका श्रीकृष्ण महर्जन, एभिन्यू मार्केटिङका उत्तमकुमार बस्नेत, प्लेटिनियम ट्रेड कन्सनका प्रविन झा र बेन्टलीका तुलसीधर भण्डारी रहेका छन् ।

उपभोक्तालाई ठगेको भन्दै न्यूरोडका दुईसहित दरबारमार्गका १३ व्यवसायीमाथि भदौको तेस्रो साता आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले अनुसन्धान गरी कारवाही प्रक्रिया अघि बढाउन दशैं अगाडि नै प्रहरी परिसर टेकुलाई जिम्मा लगाएको थियो । सोही समयदेखि फरार रहेका उनीहरुलाई प्रहरीले खोजी गरि पक्राउ गरेको हो ।

उनीहरु फरार रहेको समयमा नै शिलबन्दी गरिएका पसलहरुलाई त्यसबेला व्यापारीहरुले तिब्र दबाव दिएपछि विभागले पसल भने खोल्न अनुमति दिएको थियो । हाल उनीहरूविरुद्ध कालोबजारी ऐनअन्तर्गत मुद्दा दर्ता भइसकेको छ भने अब म्याद थपेर अदालतमा लैजाने तयारी भएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट