म्यादी प्रहरीमा जागीर लगाइदिन्छु भनी ठगी गर्ने तीन पक्राउ

प्रकाशित मिति: १५ कार्तिक २०७४, बुधबार

पर्सा, १५ कात्तिक ।  प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पर्सामा भइरहेको म्यादी प्रहरी छनोटमा पास गराई जागिर लगाई दिन्छु भन्दै सर्वसाधारणसँग रकम ठगी गर्ने तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक डा.गणेश रेग्मीका अनुसार म्यादी प्रहरीमा जागीर लगाइदिन्छु भन्दै सर्वसाधारणसँग रकम ठग्ने गरेको अभियोगमा पर्साको बहुदरमाई नगरपालिका–१ निवासी हरिनारायण राम, वडा नं. ५ निवासी विसुन्देव यादव र छठु महरा चमारलाई पक्राउ गरिएको हो ।

वीरगन्जको मुर्ली बगैँचास्थित रातो बंगलाबाट सोमबार साँझ विभिन्न कागजपत्र तथा नगदसहित पक्राउ गरेका तीनैजना अभियुक्तलाई पर्सा प्रहरीले मंगलबार पत्रकार सम्मेलनको अयोजना गरी सार्वजनिक गरेको हो । डा.रेग्मीले म्यादी प्रहरीमा जागिर लगाइदिन्छु भन्दै सर्वसाधारणसँग रकम ठगी गरिरहेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयको दुईसय मिटर पश्चिममा रहेको रातोबंगलामा छापा मार्दा सूचनाअनुसारकै प्रमाण फेला परेपछि आवश्यक अनुसन्धानका लागि तीनैजनालाई नियन्त्रणमा लिइएको जनाए ।

पक्राउ गरिएका अभियुक्तबाट म्यादी प्रहरीका सक्कल प्रवेशपत्र २२ थान, प्रवेशपत्रको फोटोकपी २० थान, स्वास्थ्य परीक्षण रिपोर्ट पाँच थान, मोबाइल तीनथान र ३७ हजार एकसय रुपैयाँ नगद बरामद भएको प्रहरीले जनाएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट