खोटाङमा बजिमय एक्ली महिला उम्मेदवार

प्रकाशित मिति: १४ कार्तिक २०७४, मंगलवार

खोटाङ, १४ कात्तिक । प्राय जुनसुकै कार्यक्रममा महिलाको अधिकार र सहभागिताका पक्षमा चर्को कुरा उठे पनि निर्वाचनमा महिला सहभागीतालाई भने उपेक्षा गरेको पाइएको छ, यसैको ज्वलन्त उदाहरण अहिले खोटाङमा आगामी मंसिर १० गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा एकजना मात्र महिलाको उम्मेदवारी परेको छ । जिल्लाबाट प्रदेश र प्रतिनिधिसभाका लागि उम्मेदवार बनेका १८ जना पुरुषको सामु एक्ली महिला सरस्वती बजिमयको उम्मेदवारी परेको हो ।

वि.सं. २०७० मा भएको संविधानसभाको दोस्रो निर्वाचनमा समानुपातिकतर्फको सभासद बनेकी बजिमय नेपाली काँग्रेसबाट प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फको उम्मेदवार बनेकी हुन् । काँग्रेस निकट महिला संगठनबाट २०३६ सालदेखि राजनीति शुरु गरेकी बजिमय महिला संघको जिल्ला सभापति, केन्द्रीय कोषाध्यक्ष, महिला विभागको केन्द्रीय सदस्यलगायतको भूमिका निर्वाह गरिसकेकी छन् । उम्मेदवारी हालेसँगै चुनावी अभियानमा होमिएकी बजिमयको आगामी निर्वाचनमा वाम गठबन्धनका साझा उम्मेदवार विशाल भट्टराईसँग कडा प्रतिस्पर्धा हुने देखिएको छ । प्रतिनिधिसभा सदस्यमा बजिमयले टिकट पाए पनि प्रदेशसभामा कुनै पनि दलले महिला नेत्रीलाई टिकट दिएका छैनन् ।

बजिमयसँगै काँग्रेस, नेकपा (एमाले)– नेकपा (माओवादी केन्द्र), संघीय समाजवादी फोरम नेपाल, नयाँ शक्ति नेपाल, नेकपा (माले), राप्रपा (प्रजातान्त्रिक), एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी), राष्ट्रिय जनता पार्टी, मंगोल नेशनल अर्गनाइजेशन, राष्ट्रिय जनमुक्ति र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १९ जना उम्मेदवार रहेका छन् । निर्वाचनमा जिल्लाबाट प्रतिनिधिसभाका लागि १० र प्रदेशसभाका लागि नौजनाको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्रदेशसभामा दुई र प्रतिनिधिसभामा एक क्षेत्र रहेको जिल्लामा सबै राजनीतिक दलले आ–आफ्नो चुनावी अभियान शुरु गरिसकेका छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट