न्यायाधीश रेग्मीद्वारा निर्वाचन कार्यालय उद्घाटन

प्रकाशित मिति: ९ कार्तिक २०७४, बिहीबार

झापा, ९ कात्तिक । आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि झापा जिल्लाको निर्वाचन कार्यालयको भवन मुख्य निर्वाचन अधिकृत एवं झापा जिल्ला अदालतका न्यायाधीश खिलानाथ रेग्मीले उद्घाटन गरे । जिल्लामा पाँच वटै निर्वाचन कार्यालयको भवनहरु निर्वाचन क्षेत्र नं. १ र ३ को जिल्ला समन्वय समितिको कार्यालयमा, निर्वाचन क्षेत्र नं. २ को निर्वाचन कार्यालय जिल्ला शिक्षा कार्यालयमा, निर्वाचन क्षेत्र नं. ४ को निर्वाचन कार्यालय नेपाल स्काउट भवनमा र निर्वाचन क्षेत्र नं. ५ को निर्वाचन कार्यालय जिल्ला हुलाक कार्यालयमा स्थापना गरिएको हो ।

त्यस्तै, निर्वाचन क्षेत्र नं. ३ मा मुख्य निर्वाचन अधिकृत खिलानाथ रेग्मी, निर्वाचन क्षेत्र नं. १ मा शिवप्रसाद पराजुली, निर्वाचन क्षेत्र नं. २ मा इन्दिरा शर्मा, निर्वाचन क्षेत्र नं. ४ मा प्रेम खड्का र निर्वाचन क्षेत्र नं. ५ मा शकुन्तला कार्कीलाई निर्वाचन अधिकृतको जिम्मेवारी प्रदान गरिएको छ । मुख्य निर्वाचन अधिकृत रेग्मीले कार्यालय भवन उद्घाटन गर्दै भयरहित र निष्पक्ष निर्वाचनका लागि राजनीतिक दल, राष्ट्रसेवक कर्मचारीले निर्वाचन आचारसंहितालाई पूर्णरूपमा पालना गर्नु पर्नेमा जोड दिए ।

कार्यक्रममा निमित्त प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठ, निर्वाचन अधिकृतहरू शिवप्रसाद पराजुली, प्रेम खड्का, शकुन्तला कार्की, इन्दिरा शर्मा, जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेल, जिल्ला निर्वाचन अधिकारी गोपाल आचार्य, राजनीतिक दलका तर्फबाट नेपाली काँग्रेसका विजय रिजाल, नेकपा (एमाले)का मदन अधिकारी, राष्ट्रिय जनमोर्चाका नवराज ढुंगाना, राष्ट्रिय जनता पार्टीका सूर्यनारायण गणेशले पनि आसन्न निर्वाचन भयरहित, निष्पक्ष एवं धाँधलीरहित वातावरणमा सम्पन्न हुनु पर्ने बताए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट