आज छठ पर्वको दोस्रो दिन खरना धूमधामका साथ मनाइँदै

प्रकाशित मिति: ८ कार्तिक २०७४, बुधबार

काठमाडौं, ८ कात्तिक । आज छठ पर्वको दोस्रो दिन गाईको गोबरले घर लितपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलनले भूमि सजाएर ब्रतालुले दिनभरी निराहार व्रत बसी राती चन्द्रमालाई खीर चढाई सोही प्रसाद ग्रहण गरी खरना मनाइँदैछ ।

छठ पर्व पारिवारिक सुख, शान्ति, कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पूरा होस् भन्ने उद्देश्यले सूर्यको उपासना गरी मनाउने गरिन्छ । द्रौपतिसहित पाण्डवहरुले अज्ञात वासमा रहँदा गुप्तवास सफल होस् भनी सूर्यदेवको आराधना गरेको र सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको विश्वास छ ।

छठको तेस्रो र मुख्य दिन भोलि अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिई गहुँ र चामलको पिठोबाट बनेको परिकार चढाउने गरिन्छ । छठको चौथो र अन्तिम दिन उदाउँदै गरेको सूर्य र षष्टी मातालाई अर्घ दिई छठ सम्पन्न गरिन्छ । काठमाडौंमा रानीपोखरी, कमलपोखरी, वाग्मती किनार, शंखमूललगायतका स्थानमा छठ मनाइन्छ ।

यस्तै जनकपुरका गंगा सागर, धनुष सागरसहितका दर्जनौ पोखरी र वीरगञ्जको घडीअर्वा पोखरीमा छठको पूजा गर्न भक्तजनको विशेष भीड लाग्ने गर्दछ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट