आजदेखि छठ पर्व शुरु

प्रकाशित मिति: ७ कार्तिक २०७४, मंगलवार

काठमाडौं, ७ कात्तिक ।  आजदेखि छठ पर्व शुरु भएको छ । सूर्यदेवको श्रद्धा भक्तिपूर्वक पूजा, आराधना, उपासना गरी कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठ पर्व आज स्नान गरी चोखो खाएर बसिन्छ ।

चतुर्थीको कर्मलाई अरबाइन वा अरबा भनिन्छ । मनोकांक्षा पूरा हुने विश्वासमा विशेष महिलाले छठमा कठोर ब्रत गर्छन् । विशेषगरी तराईमा मनाइने मिथिला संस्कृतिमा आधारित छठ पर्व वि.सं. २०४६ पछि काठमाडौँलगायत पहाडमा मनाउन थालिएको हो भने ०४६ सालदेखि नै सरकारले यस पर्वको मुख्य दिन अर्थात् कात्तिक शुक्ल षष्ठीमा सार्वजनिक बिदा दिंदै आएको छ ।

कात्तिक शुक्ल पञ्चमीका दिन निर्जल उपवास बसी बेलुकी घरमा खीर बनाई चन्द्रमालाई अर्पण गरेर एक छाक खाने गरिन्छ, जसलाई खरना भनिन्छ । षष्ठीका दिन ब्रतालुबाट ठेकुवा, फलफूल, मिठाइ, रोटी सूर्य एवं छठी मातालाई चढाउने गरिन्छ ।

षष्ठीका दिन पक्वान्न, फलफूल र नरिवललाई बाँसको टोकरीमा सजाएर माथिबाट कपडाले छोपिन्छ । साँझपख बत्ती बालेर माटाको घडाको साथ नदी वा तलाउका किनारमा बसेर डुब्न लागेको सूर्यलाई अघ्र्य दिई प्रणाम गरिन्छ । अघ्र्य दिएपछि तीनपटक पानीमा डुबुल्की मारेर मनोरञ्जनका साथ त्यही रात बिताइन्छ ।

सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई दर्शन गर्न बिहान ४ बजेबाटै प्रतीक्षा गरिन्छ । उदाउँदो सूर्यलाई गाईको दूध, फूल र जलले अघ्र्य दिइन्छ । यसरी घाटमा गरिने पूजालाई भिन्सरघाट भनिन्छ । बिहानै घाटमा गरिने पूजा भएकाले भिन्सरघाट भनिएको हो । सूर्योदयकालमा अघ्र्य दिई सूर्यको दर्शन गरेपछि छठ पूजा सकिन्छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट