समयमै निर्वाचन हुने प्रम देउवाको जिकिर

प्रकाशित मिति: ३ कार्तिक २०७४, शुक्रबार

काठमाडौं, ३ कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानको कार्यान्वयन र लोकतन्त्रको संस्थागत विकासका लागि समयमै प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न हुने बताएका छन् । नेपाल संवत् ११३८ का अवसरमा नेपाल संवत् न्हू दँ राष्ट्रिय समारोह समितिद्वारा ऐतिहासिक हनुमानढोका दरबार क्षेत्रमा आज आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले राजनीति स्थायित्व र आर्थिक समृद्धि निर्वाचनले ल्याउने भन्दै प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन तोकिएकै मितिमा हुने कुरामा शंका नगर्न आग्रह गरेका हुन् ।

गरिबी र असमानता अन्त्य गर्दै राष्ट्रिय विभूति शंखधर साख्वाले नेपाल संवत्को शुरुवात गर्नुभएको भन्दै प्रधानमन्त्री देउवाले नेपाल संवत् मनाउन १० लाख रुपैयाँ सरकारका तर्फबाट प्रदान गरिने बताए । नेपाल संवत् मौलिक संवत्का रुपमा रहेको चर्चा गर्दै यसको संरक्षण, संवद्र्धन गर्न सरकार प्रतिबद्ध रहेको समेत बताए ।

सामारोह समितिका संयोजक चित्तरञ्जन नेपालीले नेपाल संवत्लाई राष्ट्रिय संवत्का रुपमा मान्यता दिएपनि सरकारले सोअनुरुपका व्यवहार गर्न नसकेको चर्चा गर्दै आर्थिक कारोबार गर्दा चेक बुकमा नेपाल सवत्लाई मान्यता दिन, राष्ट्रिय प्रतिष्ठान स्थापना गर्न र नेपाल संवत्का विषयमा पाठ्यक्रम तयार गर्न माग गरे । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले राष्ट्रिय विभूति शंखधर साख्वाको योगदानलाई जीवन्त बनाइराख्न महानगरपालिकाले थप विविध कार्य गर्न लागेको जनाए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट