‘उमंगको अनुभूति’ नाराका साथ पाँच पर्यटकीय बस संचालनमा

प्रकाशित मिति: २९ आश्विन २०७४, आईतवार

काठमाडौं, २९ असोज । ट्राभल्स नेपाल बस सर्भिस प्रालिले अत्याधुनिक सेवा र सुविधासहित थप पाँच पर्यटकीय बस संचालनमा ल्याएको छ । आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उद्देश्यले ‘उमंगको अनुभूति’ भन्ने नाराका साथ यही वैशाखमा चार वटा बस संचालन गरेको प्रालिले आजदेखि थप पाँचवटा बस संचालनमा ल्याएको हो ।

ट्राभल नेपाल प्रालिले सञ्चालनमा ल्याएका नौ बसमध्ये छ वटा बस पोखरा र तीन वटा बस लुम्बिनीका लागि संचालन भएका छन् । बसभित्र तातो, चिसो खानेकुरा पाइनुका साथै शौचालयको समेत व्यवस्था भएकाले आनन्ददायी यात्रा गर्न मिल्ने जानकारी उक्त प्रालिले दिएको छ ।

प्रालिका निर्देशक दीपक भट्टराईले यात्रुको चाहना, सुरक्षा र सुविधालाई ध्यानमा राखी काठमाडौंदेखि लुम्बिनी र काठमाडौंदेखि पोखरासम्मका लागि उक्त बस संचालनमा ल्याइएको जनाए । ‘पर्यटकलाई लक्षित गरेर यो बस भित्र्याइएकाले विदेशी सेवा सरह बनाउन खोजेका हौं’, भन्दै प्रालिका अर्का निर्देशक मिलन नेपालले नयाँ बसबाट यात्रा गर्न चाहनेका लागि मोबाइल एप्स र इ–सेवामार्फत टिकट काट्ने व्यवस्था मिलाइएको जानकारी दिए ।

बाइस सिट क्षमता भएको उक्त बसमा प्रिमियम थाइरेस्ट सोफासिट राखिएको छ । प्रालिका वित्तीय निर्देशक मनिष केसीले भारतमा निर्माण भएको उक्त बसको लागत एक करोड रुपैयाँ पर्नेे जनाए । उक्त बस काठमाडौँ–पोखरा जाने विदेशीका लागि खानासहित २५ डलर र स्वदेशी पर्यटकका लागि २० डलर लाग्ने प्रालिले जनाएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट