भारतबाट तिहारका लागि तीन लाखको माला भित्रिदैँ

प्रकाशित मिति: २७ आश्विन २०७४, शुक्रबार

काठमाडौँ, २७ असोज । यस वर्ष फूलको उत्पादनमा कमी आएकाले तिहारका लागि तीन लाख माला आयात गरिने फ्लोरिकल्चर एशोसिएसनका अध्यक्ष कुमार कसजु श्रेष्ठले जनाएका छन् । श्रेष्ठका अनुसार तीन दिन भित्रमा भारतबाट सबै माला आइसक्नेछ ।

गत वर्षको तिहारमा भन्दा यस वर्ष फूलको माग बढेकाले फूलको मूल्यमा १० प्रतिशतसम्म वृद्धि हुने भएको छ । गत वर्ष तिहारमा ११ लाख मालाको माग भएकामा यस वर्ष १५ लाख सयपत्री मालाको माग रहेको छ ।

गत वर्ष दुई लाख माला आयात गरिएको थियो भने यस वर्ष माग बढेकाले ९० लाख रुपैयाँको सयपत्री फूलको तीन लाख माला भारतबाट आयात गर्ने तयारी भएको छ । यो गत वर्षको तुलनामा ३० लाख रुपैयाँले बढी हो । गत वर्ष ६० लाख रुपैयाँ मूल्य बराबरको सयपत्री माला आयात गरिएको थियो ।

यस वर्ष तिहारमा देशभर १५ लाख रुपैयाँ फूलको मालाको कारोबार हुने भएको छ । गत वर्षको तिहारमा ११ लाख रुपैयाँको कारोबार भएको थियो । काठमाडौँ उपत्यकामा सबैभन्दा बढी ४० प्रतिशत माला खपत हुने बताइएको छ । सन् २०१६ मा एक अर्ब ७१ करोडको फूलको कारोबार भएकामा तिहारमा मात्र सात करोड रुपैयाँको फूलको कारोबार भएको थियो । त्यसैगरी करिब पाँच करोड रुपैयाँको फूल वार्षिकरुपमा आयात हुने गरेको छ ।

मुख्य गरी कात्तिक महिनादेखि फागुनसम्मको महिनामा फूल बढी खपत हुन्छ । तिहारमा सयपत्री र प्रणय दिवसमा रातो गुलाब फूल आयात गर्नुपरे पनि नेपाल मखमली र गोदावरी फूलमा आत्मनिर्भर बनिसकेको अवस्था छ । अष्ट्रेलिया, मलेसियामा नेपालीले बसोबास गर्ने गरेकाले तिहारको समयमा ती देशमा मखमली फूल निर्यातसमेत हुन थालेको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट