पाँचथरमा उम्मेदवार चयन

सिफारिस सकियो, आकाङ्क्षीहरु टिकटका लागि लविङ गर्दै काठमाडौंमा

प्रकाशित मिति: २५ आश्विन २०७४, बुधबार

विपुल अधिकारी
पाँचथर, २५ असोज । आगामी मंसिर १० गते हुने संघीय प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि अधिकांश दलहरुले उम्मेदवार सिफारिस गरेका छन् ।

संघीय प्रतिनिधिसभाको एक र प्रदेश सभाको २ सिटका लागि कांग्रेस पाँचथरले मूख्य आकाङ्क्षीहरुको नाम केन्द्रमा सिफारिस गरेको छ । एमाले पाँचथरले संघीय प्रतिनिधिसभा सदस्यका उम्मेदवारको नाममा सहमति जुटाएको छ भने प्रदेशसभा सदस्य पदका आकाङ्क्षीहरुको नाम प्रदेश कमिटीमा पठाएको छ । माओवादी केन्द्रले प्रत्यक्षतर्फका तीनै जना उम्मेदवार सर्वसहमत छनौट गरेको छ । संघीय समाजवादी फोरम, राष्ट्रिय प्रजातन्त्र पार्टी, नयाँ शक्ति पार्टी, संघीय लिम्बुवान मञ्चलगायत दलहरुले पनि जिल्ला स्तरमै उम्मेदवारको नाम टुङ्ग्याएका छन् ।

कांग्रेस :
कांग्रेस पाँचथरले संघीय प्रतिनिधिसभाका लागि सांसद् एवं कांग्रेस केन्द्रीय सदस्य भिष्मराज आङदेम्वे, महासमिति सदस्य मित्रप्रसाद काफ्ले र महाधिवेशन प्रतिनिधि डिकबहादुर चेम्जोङको नाम सिफारिस गरेको छ । संघीय प्रतिनिधिसभाको समानुपातिकतर्फ पूर्वमन्त्रीद्वय पूर्णकुमार शेर्मा र दीपकप्रकाश बास्कोटा, महासमिति सदस्य कृष्णकुमारी खतिवडा र पूर्व जिल्ला सदस्य चन्द्रकला केरुङको नाम सिफारिस गरिएको छ । कांग्रेस पाँचथरले प्रदेशसभाका लागि क्षेत्र नम्वर क) मा जिल्ला सभापति नरेन्द्रकुमार केरुङ, सचिव रुपनारायण जवेगू, जिल्ला सदस्य तथा गैसस महासंघ पाँचथरका अध्यक्ष बालकृष्ण ओझा र पत्रकार महासंघ पाँचथरका अध्यक्ष लवदेव ढुंगानाको नाम सिफारिस गरेको छ ।

प्रदेशसभाको समानुपातिकतर्फ महासमिति सदस्य अम्बिकाप्रसाद न्यौपाने, पूणबवहादुर नेपाली, मधु जवेगू, टेकबहादुर काम्वाङ तथा नेताहरु जयप्रसाद रिजाल, विश्वराज योङया, सुरेन्द्र तिमिल्सिना लगायतको नाम सिफारिस गरिएको जिल्ला सचिव वृजहाङ आङदेम्वेले बताए । कांग्रेसले क्षेत्र नम्बर ख) मा महासमिति सदस्य सुरेन्द्रकुमार दाहाल, शिक्षक संघका अध्यक्ष वीरेन्द्र खड्का, महाधिवेशन प्रतिनिधि धर्मेन्द्रविक्रम नेम्वाङ र क्षेत्रीय सदस्य सूर्यकुमारी चेम्जोङको नाम सिफारिस गरेको छ । प्रदेश सभाको समानुपातिकतर्फ पूर्वसचिव हरिराज आङदेम्वे, धनेन्द्र चेम्जोङ, पत्रकार विपेन्द्र गौतम, गंगामाया आङदेम्वे, रामराज आङदेम्वे, आशा आङदेम्वे, निरबहादुर विश्वकर्मा, धनराज तुम्वापोलगायतको नाम सिफारिस गरेको छ ।

कांग्रेसबाट संघीय प्रतिनिधिसभा सदस्य पदमा नेता भिष्मराज आङ्देम्बेले टिकट पाउने सम्भावना बलियो छ । पार्टी केन्द्रीय सदस्य भएका कारण आङ्देम्बे बलिया दाबेदार मानिएका छन् । आङ्देम्बे पछि हटेको अवस्थामा महासमिति सदस्य मित्रप्रसाद काफ्ले उम्मेद्वार बन्ने करिब निश्चित छ । प्रदेश सभा सदस्यका लागि पाँचथर क्षेत्र नम्बर क) मा सभापति नरेन्द्रकुमार केरुङको सम्भावना बलियो छ । तर, सचिव रुपनारायण जवेगू दलबलसहित टिकट आफूले पाउनुपर्ने लविङ गर्दै राजधानी काठमाडौं पुगेका छन् । केरुङ २०७० सालमा दोश्रो संविधानसभाको निर्वाचनमा पराजित भएका थिए । कांग्रेसबाट पाँचथर क्षेत्र नम्बर ख) मा महासमिति सदस्य सुरेन्द्रकुमार दाहालले टिकट पाउने सम्भावना अधिक छ ।

एमाले :
एमाले पाँचथरले संघीय प्रतिनिधि सभा सदस्यका लागि प्रत्यक्ष तर्फ पूर्वसांसद बसन्तकुमार नेम्वाङ र समानुपातिकतर्फ पूर्वमन्त्री डम्वरसिंह सम्वाहाम्फेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । एमालेले प्रदेशसभा सदस्यका लागि क्षेत्रीय कमिटीहरुले सिफारिस गरेका आकांक्षीहरुको नाम प्रदेश कमिटीमा सिफारिस गरेको छ । प्रदेश सभाका लागि पाँचथर क्षेत्र नम्बर क) र ख) बाट प्रत्यक्ष र समानुपातिक तर्फ आकाङ्क्षीहरुको नाम सिफारिस गरेको सचिव तिवेन्द्रराज चापागाईले बताए ।

प्रदेश सभा सदस्यका लागि प्रत्यक्षतर्फ क्षेत्र नं. क) मा सांसद गणेशकुमार काम्वाङ, नेता थुमनाथ चापागाई, सचिव तिवेन्द्रराज चापागाई, जिल्ला सचिवालय सदस्य महेन्द्रविक्रम थाम्सुहाङ र भवानी लिङदेनको नाम सिफारिस गरिएको छ भने समानुपातिकतर्फ उपेन्द्र दंगाल, आशारत्न जवेगु, वीरदल राई, सुदर्शन थापा र कमल जवेगूको नाम सिफारिस गरिएको चापागाईले बताए । यस्तै पाँचथर क्षेत्र नं. ख) मा प्रत्यक्षतर्फ नरेन्द्र वस्नेत, कृष्ण आङदेम्वे, मेघराज घिमिरे, गंगा चेम्जोङ र छवि लावती तथा समानुपातिक तर्फ गोविन्द तामाङ, नरवहादुर खड्का, ड्राइभरसिंह महरा, करुणा राई र सन्त राईको नाम सिफारिस गरिएको हो ।

माओवादी केन्द्र :
माओवादी केन्द्र पाँचथरले दशैँ अगावै संघीय प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि उम्मेद्वार छनौट गरिसकेको छ । माओवादी पाँचथरले संघीय प्रतिनिधिसभा सदस्य पदको उम्मेदवारमा पूर्वमन्त्री एवं सांसद् श्रीप्रसाद जवेगूलाई चयन गरेको छ भने प्रदेशसभाको लागि पाँचथर क्षेत्र नं. क) १ मा पार्टीका इञ्चार्ज हर्क नेम्वाङ ‘मिक्सो’ र पाँचथर क्षेत्र नं. ख) मा पार्टीका केन्द्रीय सचिवालय सदस्य इन्द्र आङ्वो ‘मौसम’ लाई सर्वसहमत रुपमा उम्मेद्वारको रुपमा छनौट गरेको छ । माओवादीमा संघीय प्रतिनिधिसभा तथा प्रदेशसभाको समानुपातिक तर्फ नेताहरु नरबहादुर दुलाल ‘नेटवर्क’, अमरसिंह थापा, सीता थेवे ‘प्रमिला’, सुरेन्द्र जवेगू ‘नवीन’, होमबहादुर जवेगू ‘सूर्यमान’, शंकरध्वज नेम्वाङ, मेदनी खत्री, रविन मुखिया, चिरञ्जिवी लामिछाने, निरानन्द घिमिरेलगायतले उम्मेद्वारको रुपमा सिफारिस हुने आकाङ्क्षा देखाएका छन् । माओवादीले आन्तरिक छलफल पश्चात समानुपातिक उम्मेदवारको टुङ्गो लगाउने बताएको छ ।

राप्रपा :
राष्ट्रिय प्रजातन्त्र पार्टी पाँचथरले केन्द्रीय सदस्य तेजकुमार कुरुम्बाङलाई संघीय प्रतिनिधिसभा सदस्यको उम्मेद्वार बनाएको छ । राप्रपाले समानुपातिकतर्फ छविरमण सुवेदी, सुनिता कुरुम्वाङ, रामबहादुर थापा र टीकाहाङ जवेगूको नाम सिफारिस गरेको छ । राप्रपाले प्रदेशसभाका लागि पाँचथर क्षेत्र नं. क) मा हरिप्रकाश सुवेदीलाई उम्मेद्वार बनाएको छ भने समानुपातिकतर्फ देवी शिवाकोटी, दीपकुमारी (सबिता) राउत र दिलकुमारी तुम्वापोको नाम सिफारिस गरिएको छ । राप्रपाले पाँचथर क्षेत्र नं. ख) मा आषवहादुर सम्वाहाम्फेलाई प्रत्यक्षतर्फको उम्मेद्वार बनाएको छ भने समानुपातिकतर्फ बमबहादुर सम्वाहाम्फे र महेन्द्र लावतीको नाम सिफारिस गरिएको राप्रपाले जनाएको छ ।

संघीय समाजवादी :
संघीय समाजवादी फोरम पाँचथरले संघीय प्रतिनिधिसभा सदस्यमा पार्टीका केन्द्रीय सदस्यद्वय मुकुम नेम्बाङ प्रेमराज लावतीको नाम सिफारिस गरेको छ । फोरमले प्रदेशसभाका लागि प्रत्यक्षतर्फ क्षेत्र नम्बर क) मा संजिब योङ्या, रणसिंह लक्सम र बिर्खबहादुर वाइबाको नाम सिफारिस गरेको छ भने क्षेत्र नम्बर ख) मा जेन्टल लावती, भवानी आङ्देम्बे र एबिराज आङ्देम्बेको नाम सिफारिस गरेको छ । फोरमले संघीय प्रतिनिधिसभा समानुपातिकतर्फ बिजयबिक्रम योक्पाङ्देन, राजेन्द्रकुमार जबेगू, दीपेन्द्र आङ्देम्बे, धिरेन सम्बाहाम्फे र मनु लावती नेम्बाङको नाम सिफारिस गरेको जनाएको छ । यस्तै प्रदेश सभा समानुपातिक तर्फ क्षेत्र नम्बर क) मा सजिना सेलिङ, सुजाता राई, हर्कबहादुर योङ्हाङ र हरिराज लोवा तथा क्षेत्र नम्बर ख) मा नेता खगेन्द्र माखिम, महेन्द्रसुन्दर नेम्बाङ, एल.बी. रहपाल, गोपाल राई र देबेन्द्र नेम्बाङको नाम सिफारिस गरिएको हो ।

नयाँ शक्ति :
यस्तै नयाँ शक्ति पार्टी पाँचथरले संघीय प्रतिनिधिसभाको प्रत्यक्ष तर्फ दिलवहादुर लावती र समानुपातिक तर्फ लालध्वज नेम्वाङको नाम सिफारिस गरेको छ । यस्तै प्रदेशसभाका लागि क्षेत्र नं. क) मा प्रत्यक्ष तर्फ खगेन्द्र लोवा र समानुपातिक तर्फ यादप वान्तवा तथा क्षेत्र नं. २ मा प्रत्यक्षतर्फ सूर्यप्रसाद सम्वाहाम्फे र समानुपातिक तर्फ नगेन्द्रप्रसाद नेम्वाङको नाम सिफारिस गरिएको संयोजक खगेन्द्र लोवाले बताए ।

लिम्बुवान :
संघीय लिम्बुवान मञ्च पाँचथरले संघीय प्रतिनिधिसभा सदस्य पदमा जिल्ला अध्यक्ष सागर केरुङलाई उम्मेद्वार बनाउने भएको छ । मञ्चले संघीय सभाको सामानुपातिकमा सुशिला मादेन राईलाई छनौट गरेको छ । मञ्चले प्रदेशसभाका लागि पाँचथर क्षेत्र नं. १ क) मा हर्कजङ लिङ्देनलाई उम्मेद्वार बनाएको छ भने समानुपातिक तर्फ संगम खनाल र देउकुमार नेम्बाङको नाम सिफारिस गरेको अध्यक्ष केरुङले बताए । मञ्चले पाँचथर क्षेत्र नं. २ ख) मा प्रत्यक्ष तर्फ लाबाहाङ चेम्जोङ र समानुपातिक तर्फ चन्द्रराज आङ्देम्बेलाई उम्मेद्वार बनाएको छ ।

बाम तालमेल :
एमाले, माओवादी केन्द्र, नयाँ शक्तिसहितका दलले गरेको बाम तालमेलपछि ती दलबाट पाँचथरमा प्रत्यक्षतर्फ साझा उम्मेद्वार खडा हुनेछन् । ती दलहरुले सिट बाँडफाँटका लागि केन्द्रमा छलफल चलाइरहँदा एमाले र माओवादी केन्द्रका नेताहरुले लविङ थालेका छन् । सोमबार रातिसम्मको छलफलअनुसार पाँचथरमा संघीय प्रतिनिधिसभा सदस्यको उम्मेद्वार एमालेले पाउने सम्भावना बढि रहेको सम्वद्ध स्रोतको दाबी छ । संघीय प्रतिनिधिसभा सदस्यको टिकट नपाए जिल्लाका दुवै प्रदेश सभा सदस्यको टिकट आफूले पाउनुपर्ने दाबी माओवादीको छ । एमालेले भने पाँचथर क्षेत्र नं. ख) को टिकट माओवादी केन्द्रलाई दिने आन्तरिक तयारी गरेको छ ।

प्रजातान्त्रिक तालमेल :
कांग्रेसको नेतृत्वमा प्रजातान्त्रिक दलहरुको तालमेलले मूर्त रुप ग्रहण गरिनसक्दा जिल्लाको सिट बाँडफाँटको विषय अन्यौलमा छ । प्रजातान्त्रिक तालमेलले मूर्त रुप लिए राप्रपा र राप्रपा प्रजातान्त्रिक मध्ये एक दललाई काँग्रेसले प्रदेश सभा सदस्यको एउटा टिकट दिनसक्ने सम्भावना रहन्छ । पूर्वमा झापापछि पाँचथरमा राप्रपाको अवस्था राम्रो रहेको मानिन्छ ।

 


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट