दोस्रो लेगमा पनि नेपाल ताजिकिस्तानसँग पराजित

प्रकाशित मिति: २५ आश्विन २०७४, बुधबार

राजेश थापामगर

काठमाडौं । एएफसी एसियन कप छनौट अन्तर्गत ताजिकिस्तानविरुद्धको अवे खेलमा पनि नेपाल पराजित भएको छ । मंगलबार ताजिकिस्तानको हिसोर दुसोन्बीस्थित सेन्टर हिसोर स्टेडियममा भएको महत्वपूर्ण खेलमा नेपाल घरेलु टिमसँग ३-० गोल अन्तरले पराजित भएको हो ।

नेपालविरुद्ध ताजिकिस्तानले तीन वटा गोल पेनाल्टीमार्फत गरेको थियो । खेलको २०औँ र ६०औँ मिनेटमा डिबक्सभित्र अनन्त तामाङले फल गर्दा ताजिकिस्तानले पेनाल्टीको अवसर प्राप्त गर्यो । उक्त पेनाल्टी अवसरलाई ताजिकिस्तानका ड्याभ्रोनोभ र पारभिड्जोनले सदुपयोग गरेका थिए ।

खेल सकिन ४ मिनेट बाँकी रहेको अवस्थामा आदित्य चौधरीले फल गर्दा ताजिकिस्तानले तेस्रो पेनाल्टी हान्ने अवसर प्राप्त गर्यो । उक्त अवसरलाई ताजिकिस्तानका जालिलोभले गोल गर्दै टिमलाई ३-० को सहज जित दिलाए । यसअघि घरेलु मैदानमा भएको खेलमा पनि नेपाल ताजिकिस्तानसँग २-१ गोल अन्तरले पराजित भएको थियो ।

एसियन कपमा छनौट हुने सम्भावनालाई जिवितै राख्नलाई ताजिकिस्तानविरुद्धको खेल जित्नै पर्ने दबाबमा रहेको नेपाली टिमको यस हार पश्चात छनौट हुने सम्भावना लगभग सकिएको छ । समुह एफमा रहेका नेपालले चार खेलबाट मात्र १ अंक बटुल्दै समूहको पुछारमा रहेको छ ।

अब नेपालले घरेलु मैदानमा फिलिपिन्ससँग तथा यमनसँग उसैको मैदानमा खेल्नेछ । समूहको शीर्ष दुई स्थानमा रहने टिम सन् २०१९ मा युएई हुने एसिया कपका लागि छनौट हुनेछ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट