ताजिकिस्तानविरुद्ध दोस्रो लेग खेल्न जाने नेपाली टिमको बिदाई

प्रकाशित मिति: २० आश्विन २०७४, शुक्रबार

राजेश थापामगर

काठमाडौं । ताजिकिस्तानविरुद्ध दोस्रो लेगको एएफसी एसियन कप छनौटका खेल खेल्न जाने नेपाली राष्ट्रिय फुटबल टिमको बिदाई गरिएको छ । शुक्रबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एक कार्यक्रमबीच नेपाली टिमलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार बिष्ट, एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठलगायतले बिदाई गरेका हुन् ।

नेपाली टिम शुक्रबार बेलुकी नै ताजिकिस्तान प्रस्थान गरेको छ । जारी एएफसी एसियन कप छनौटमा एक खेल पनि जित्न नसकेको नेपाली टिमका कप्तान बिराज महर्जनले ताजिकिस्तानविरुद्धको खेलमा आफ्नो टिमले विगतको कमी कमजोरीलाई सुधार्दै जित्नकै लागि खेल्ने बताए ।

नेपालले आगामी मंगलबार अवे म्याचमा ताजिकिस्तानविरुद्ध सेन्टर हिसोर स्टेडियममा खेल्दैछ । अघिल्लो चरण प्रवेशको सम्भावनालाई जिबितै राख्नलाई नेपाललार्ई यस खेल जित्नै पर्ने दबाब रहेको छ । भदौ २० घरेलु मैदानमा भएको खेलमा नेपाल ताजिकिस्तनसँग २-१ गोल अन्तरले पराजित भएको थियो ।

त्यस्तै यमनसँग घरेलु मैदानमा गोलरहित बराबरी खेलेको नेपाल मनिलामा भएको खेलमा फिलिपिन्ससँग ४-१ गोल अन्तरले पराजित भएको थियो । नेपाल, यमन, ताजिकिस्तान र फिलिपिन्स सम्मेलित समूह एफमा नेपालले ३ खेलबाट मात्र १ अंक जोड्दै समूहको पुछारमा रहेको छ ।

होम एण्ड अवेका आधारमा सञ्चालन भइरहेको छनौट खेलमा प्रत्येक टिमले एकअर्कासँग्ँ २-२ खेल खेल्नेछ । समूहको शीर्ष दुई स्थानमा रहने टिम सन् २०१९ मा युएई हुने एसिया कपका लागि छनौट हुनेछ ।

 


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट